दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी रहेका छन् । यस्तै सात जना घाइते पनि भए ।

एकै वडाका तीन युवकको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाको दुर्घटनामा मृत्यु भएपछि दोगडाकेदार ६ शोकमग्न भएको वडाध्यक्ष लक्ष्मीदत्त जोशीले बताए । उनले भने, “तिहारको बेला खुशीयाली मनाउनुको सट्टा, गाउँनै शोकमा डुबेको छ”, उनले थपे, “अन्त्यत्तै दर्दनाक घटना भयो, गाउँमा सन्नाटा छाएको छ ।”

दुर्घटनामा घाइते ३४ मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोचलेकका वीरेन्द्र कार्की पनि घाइते भएको दुर्घटनाको कारण खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 165 Viewed

प्रतिक्रिया दिनुहोस्