काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम (एनटीसी)को नाममा फेसबूक लगायत सामाजिक सञ्जालमा अहिले एउटा प्रायोजित विज्ञापन देखिन्छ– ‘सित्तैमा आईफोन जित्नुहोस्’ भन्ने व्यहोराको ।

नेपाल–टेलिकम (अंग्रेजी अक्षरमा Nepal-Telecom) लेखिएको उक्त पेजले नेपाल टेलिकमको लोगो समेत समावेश गरी एउटा स्पोन्सर्ड (प्रायोजित) विज्ञापन तयार गरेर प्रचार गरिरहेको छ ।

विज्ञापनमा लेखिएको छ– ‘२० आईफोन १२ मध्ये एउटा जिन्त ड्रमा सामेल हुनुहोस्, नेपाल दूरसञ्चारद्वारा पेश गरिएको । क्रिसमसको अवसरमा ।’ सदस्यता लिनका लागि भन्दै एउटा लिंक पनि देखिएको छ ।

विज्ञापनमा दिइएको लिंक खोल्दा फेसबूक लगईन गर्ने एउटा डायलग बक्स खुल्छ । उक्त डायलग बक्स नियमित फेसबूक खोल्नका लागि वेब ब्राउजरमा फेसबूकडट्कम लेखेर खुल्नेभन्दा भिन्न छ ।

फेसबूकमा यस्तो विज्ञापन प्रचार गर्न जुन पेज प्रयोग गरिएको छ, त्यो नक्कली हो । कसैले नेपाल टेलिकमको नाम तथा लोगोको दुरुपयोग गरी मानिसहरुलाई भ्रम छर्न यस्तो विज्ञापनको प्रचार गरिरहेको छ ।

फेसबूकमा यस्तै केही अरु पेजहरु पनि छन्, जसमा फेसबूक प्रयोगकर्ताहरुलाई आकर्षित गर्न विभिन्न कम्पनीका फोनसहितका उपहार जित्न भन्दै सहभागीताको लिंक दिइएको छ ।

यस्ता लिंकमा क्लिक गरी खुल्ने डायलग बक्समा आफ्नो फेसबूक लगायत सामाजिक सञ्जालका अकाउन्टको युजरनेम र पासबर्ड राख्दा साइबर हमलाको शिकार हुने जोखिम हुन्छ ।

यस्तो डायलग बक्समा युजरनेम र पासबर्ड राखी फेसबूक लगायत सामाजिक सञ्जाल लगइन गर्दा ह्याकरहरुले प्रयोगकर्ताको समाजिक सञ्जालबाट डाटा चोर्न सक्ने खतरा रहेको प्रहरीको साईबर ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 104 Viewed

प्रतिक्रिया दिनुहोस्