बिनाइजाजत औषधि ओसारपसारमा संलग्न चितवनका चारसहित आठ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले मंसिर ३० गते बिहान ८ः४० बजेको समयमा ठोरीबाट माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा गाडी चालक राजकुमार महतोले गाडीको डिक्कीमा बोरामा राखी लुकाई ल्याएको २१ लाख १० हजार ५३२ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

गाडी चालक चितवनको कालिका–४ बस्ने २८ वर्षीय राजकुमार महतोलाई नियन्त्रणमा लिएर औषधिको अवैध ओसारपसारमा संलग्न अन्यको खोजी गर्ने क्रममा चितवनका तीन जना र मकवानपुरका चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा माडी–३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महतो, सोही ठाउँका २२ वर्षीय मिलन महतो, कालिका–३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी रहेका छन् ।

त्यस्तै, मकवानपुरको गढी गाउँपालिका वडा नं ८ बस्ने २५ वर्षीय सुरज गौतम, गढी–३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका वडा नं ५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र हेटौँडा–२३ बस्ने २३ वर्षीय विपीन सापकोटालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बरामद भएको औषधिहरुमा एन्टिअक्सिडेन्ट १५६ बट्टा, सिलाजित ८३ बट्टा, ओ मोरिंगा ५६ बट्टा, पानाक्स गिनसेङ ६० बट्टा, नेफ्रोफिट ५३ बट्टा, स्पिरुलिना ५० बट्टा, डेपिलो १३० बट्टा, क्याल्सियम ५६ बट्टा, एस्पोरस ७९ बट्टा र डेटोक्सिवान १७ बट्टा छ ।

त्यस्तै, प्रहरीले माडी–९ बगही खोला किनारको झाडीमा बेवारिसे अवस्थामा रहेको नौ लाख ९५ हजार एक सय रुपैयाँको औषधि फेला पारेको छ । बरिनस्ट्रोङ लाइव ५३ बट्टा, पनाक्स गिनसेङ ३० बट्टा, रेइसी ग्यानोडर्मा ९८ बट्टा, डायकेयर ९८ बट्टा, गार्लिक ६० बट्टा, अर्थोबेष्ट ९१ बट्टा, प्रूmट फिवर १४ बट्टा बेवारिसे अवस्थामा फेला परेको गुरुङले बताए ।

प्रारम्भिक जानकारीअनुसार बरामद भएका औषधिहरु औषधि व्यवस्था विभागमा दर्ता नरहेको पाइएको उनले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 121 Viewed

प्रतिक्रिया दिनुहोस्