दमौली , व्यास ३ देउरालीनगरमा अन्डर १४ फुटबल प्रतियोगिता शुरु भएको छ । स्थानीय रिभरसाईड युवा क्लबको आयोजनामा शुरु फुटबलको व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रवीन पौडेलले उद्घाटन गर्नुभएको छ ।

‘लागु औषधमुक्त युवा समाज निर्माण’ नाराका साथ शुरु प्रतियोगिता देउरालीनगर खेल मैदानमा चल्नेछ । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मादी तटमा बीच फुटबलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध गर्नुभयो । उहाँले खेलाडीहरुको लागु औषधमुक्त युवा समाज निर्माण अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रिभरसाईड युवा क्लबका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडी विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्लबका खेलाडी बिमल राना, संकटा क्लबका दिपेश आले, अर्डर क्लब भण्डारढीकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय स्तरका क्लबमा आवद्ध खेलाडीहरुले विगत एक वर्ष देखि प्रशिक्षण गराईरहेका तनहुँ र कास्कीका १० क्लबको फेस्टिबलमा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल न्यु स्टार र हाइस्कुलटारबीच भएकामा न्यू स्टार १ गोलले विजयी भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 110 Viewed

प्रतिक्रिया दिनुहोस्