आफ्नी प्रेमिकाको गोली हानी हत्या गरी पाँचथरबाट फरार भएका एक युवकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती युवालाई घटनाको १० वर्षपछि बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आङबुहाङलाई बिहीबार राति काठमाडौंको मुलपानीबाट पक्राउ गरेको हो ।

२०६७ सालमा पाँचथरको १ होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । कुमुकहाङले टाउकोमा गोली प्रहार गरेपछि ढलेकी उनकी प्रेमिकाको मृत्यु भएको थियो । प्रेमिकालाई गोली हानेपछि फरार भएका कुमुकहाङ पछिल्लो समय काठमाडौंमा लुकिछिपी बसेको सूचनाका आधारमा बिहीबार राति खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बेलायती सेनाको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए । तर, केही विषयमा विवाद बढेपछि उनले प्रमिकालाई होटेलकै कोठामा गोली हानेका प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

घटनाको १० वर्षपछि पक्राउ परेका कुमुकहाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 115 Viewed

प्रतिक्रिया दिनुहोस्