भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् ।

सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।

हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएका थिए ।

तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ ।

उनको ठेगाना कैलालीको टकापुर उल्लेख छ ।

प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरुको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपालीहरु बेपत्ता भएको हुनसक्ने आंशका गरिएको छ ।

यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो ।

उनीहरुलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले जीवितै उद्धार गरेको थियो ।

आईटीबीपीका प्रवक्ता विवेक पाण्डेका अनुसार आइतबार साँझ ती चार जना नेपाली गरी जम्मा १२ जनालाई चमोली जिल्लाको तपोवनस्थित जलविद्युत्‌को सुरुङबाट जीवितै उद्धार गरिएको हो । उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका थिए ।

आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो ।

धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ ।

हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ ।

बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटिपिसि जलविद्युत् परियोजनामा बढी क्षति पुऱ्याएको थियो ।

अझै पनि तपोवनस्थित एनटीपीसीको जलविद्युत परियोजनाको सुरुङमा कम्तीमा ३५ मजदुरहरु फसेको आशंका गरिएको छ । उनीहरुको उद्धार प्रयास जारी रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 88 Viewed

प्रतिक्रिया दिनुहोस्