पशुपति मन्दिरमा सुनको जलहरी राख्न ६४ किलो सुन ल्याएर पगालिएको छ।

१०८ किलो सुनबाट जलहरी निर्माण गरिन लागिएको हो। बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए।

‘एक चरणमा सुन ल्याइएसकेका छौँ। अहिले ६४ किलो पशुपति प्राङ्गणमै पगालिएको छ। त्यसलाई कालीगढहरुले आकार दिन लाग्नुभएको छ,’ ढकालले भने, ‘बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने छ। त्यसलाई पनि पगालिने छ।’

जलहरी निर्माणका लागि १० जना कालिगढ खटाइएको उनले जानकारी दिए। आउँदो शिवरात्रीसम्म जलहरी राखिसक्ने योजना बनाएको कोषले जलहरी निर्माणसम्पन्न भएपछि तिथिमिति हेरेर राख्ने ढकालले बताए।

माघ दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै यसअघि चाँदीको जलहरीलाई सुनको बनाउन निर्देशन दिएका थिए। सरकारले तत्काल ३० करोड दिने प्रतिबद्धता जनाएसँगै कोषको काम अघि बढाएको थियो।

कोषले जलहरीका लागि आवश्यक पर्ने १०८ किलो सुन खरिद गर्न ८० करोड रुपैयाँ लाग्ने एस्टिमेट तयार गरेको थियो। जसमा सरकारले ३० करोड दिनेछ भने ५० करोड रुपैयाँ कोषले खर्च गर्नेछ। सरकार र कोषले राष्ट्र बैंकमा पैसा जम्मा गरेपछि राष्ट्र बैंकले सुन दिएको हो ।

जलहरीसहित मन्दिरको छाना तथा बसाह मर्मतका लागि जम्मा १४२ केजी सुन किन्ने योजना भएपनि पहिले जलहरीका लागि १०८ केजी सुन्न किन्न लागिएको हो।

शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ। जलहरीको लम्बाइमा शिवलिंगकै जति हुन्छ।

तर, जलहरी फेर्ने काम विवादमा परेको छ। चाँदीको स्थानको सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हुने भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन्।

ऐनको दफा १२ को खण्ड ग मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, विरूप पारे, चोरी गरे, अनधिकृत रूपमा हटाए वा परिवर्तन गरेमा त्यस्तो पुरातात्विक वस्तुको विगोबमोजिम रकम असुल गरी ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ।

पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले ऐन मिच्न नपाइने बताए।

‘कोषले ऐनभित्र रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘ऐन अनुसार हिजो चाँदीको थियो भने आज पनि त्यही हुनुपर्ने हो। आज सुनको राख्न पाइँदैन।’

त्यस्तै सुनको जलहरी राख्नु युनेस्कोसँग सरकारले गरेको प्रतिबद्धताविपरीत भएको अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

‘सरकारले युनेस्कोमा जनाएको प्रतिबद्धता अनुरुप चाँदी खिइयो भने त्यसको ठाउँमा चाँदी राख्नुपर्ने हो। सुन किन राख्न खोजिँदैछ?’ उनले प्रश्न गरे।

सदस्यसचिव ढकाल भने आफूहरुले सम्पदा नबिगार्ने दाबी गर्छन्।

‘हामीले बिगार्न लागेको होइन। मर्मत गरेर सुनको राख्नेमात्रै हो,’ ढकालले भने, ‘ऐनले सम्पदाको स्वरुप नबिगार्न भनेको होला शिवलिंगमा होइन।’

अन्तिम पटक अध्यावधिक गरिएको 173 Viewed

प्रतिक्रिया दिनुहोस्