काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ ।

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो ।

अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । बिहान ११ बजेबाट पानी पठाउन थालिने उहाँले जानकारी दिनुभयो ।

सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । उनले भने, “सुरुङको परीक्षण सफल भएपछि नै नियमितरुपमा मेलम्चीको पानी आउनेछ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयो । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् ।

यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उहाँले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो ।

सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा ढोकाको फ्रेम नयाँ राखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्