शाकाहारी महिलालाई मांशाहारी पिज्जा दिने एक रेष्टुरेण्टका लागि यो गल्ती निकै भारी परेको छ । अब ती महिलाले रेष्टुरेण्टसँग आफ्नो धार्मिक भावना आहत गरेको भन्दै एक करोड रुपैयाँ क्षतिपूर्ति मागेकी छिन् । भारतको उत्तर प्रदेशको गाजियाबादकी यी महिलाले क्षतिपूर्तिको मागदावीसहित अदालतमै मुद्दा दायर गरेकी हुन् ।

यी शाकाहारी महिलाले गाजियाबादको एक रेष्टुरेण्टमा शाकाहारी पिज्जा अर्डर गरेकी थिइन् । तर गल्तीवश उनलाई मांशाहारी पिज्जा पठाइयो । अब महिलाले धार्मिक भावना आहत गरेको आरोप लगाउँदै उपभोक्ता अदालतमा कम्पनीविरुद्ध एक करोड रुपैयाँ हर्जाना मागेकी छिन् । महिलाले आफ्नो धार्मिक भावना आहत भएकोले यो क्षति कम गर्नको लागि आफूले कठोर र महंगो अनुष्ठान पार गर्नुपर्ने बताएकी छिन् ।
समाचार एजेन्सी एएनआइका अनुसार दीपाली त्यागी नामकी यी महिलाले आफ्नो याचिकामा उनी आफ्नो ‘धार्मिक मान्यता, शिक्षा, पारिवारिक परम्परा, स्वविवेक र आफ्नो रोजाइ’अनुसार शुद्ध शाकाहारी भएको बताउँदै मांशाहारी पिज्जा खाएपछि आफूले पिज्जा खान नै बन्द गरेको बताएकी छिन् ।

घटना करिब २ वर्ष पहिले २१ मार्च २०१९ मा भएको थियो । दीपालीले हाली मनाएपछि परिवारको लागि गाजियाबादस्थित एक पिज्जा आउटलेटबाट शाकाहारी पिज्जा अर्डर गरेकी थिइन् । निबै ढिलो पिज्जा डेलीभरी भएपछि उनले ढिलाइलाई बेवास्ता गर्दै पिज्जाको एक टुक्रा खाइन् । टोकिसमेपछि दीपालीलाई थाहा भयो कि पिज्जामा च्याउको सट्टा मासुका टुक्रा थिए ।

दीपालीका वकिल फरहत वारसीले उपभोक्ता अदालतमा आफ्नो बहसको क्रममा बताएअनुसार दीपालीले तत्कालै ग्राहक सेवा अधिकारीलाई फोन गरेर शाकाहारी पिज्जा अर्डर गरेकोमा मांशाहारी पिज्जा दिइएको लापरवाहीको विषयमा गुनासो गरेकी थिइन् । केही दिनपछि पिज्जा आउटलेटका एक प्रबन्धकले दीपालीलाई फोन गरेर उनको पूरै परिवारलाई निःशुल्क पिज्जा दिने बाचा गरेका थिए ।

फोनमा दीपालीले फेरि पनि यो घटना सानो गल्तीको नभइ कम्पनीले धार्मिक भावना र प्रथामाथि चोट पुर्याएकोले यो गम्भीर गल्ती भएको बताएकी थिइन् । दीपालीका वकिलले अदालतमा बताएअनुसार यो घटनाले दीपालीलाई स्थायी मानसिक पीडा भएको छ । वकिलका अनुसार अब दीपालीले शुद्ध हुनको लागि कैयौं लामो समयसम्म चल्ने र महंगा अनुष्ठान गर्नुपर्नेछ जसको लागि उनले आफ्नो पूरै जीवनकालमा लाखौं रुपैयाँ खर्च गर्नुपर्नेछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 62 Viewed

प्रतिक्रिया दिनुहोस्