मेलम्चीको पानी पिउँने काठमाडौं उपत्यकावासीको २७ वर्षदेखिको सपना आज पूरा हुँदैछ। बहुचर्चित मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको हो।

गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज (आइतबार)काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो। पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ।

काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ।

केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खा याममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ। आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।

अन्तिम पटक अध्यावधिक गरिएको 63 Viewed

प्रतिक्रिया दिनुहोस्