पोखरा जेठ २५/ “जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्री ‘हामी’, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने मूल नारासहित गण्डकी प्रदेशभरि ट्राफिक सचेतना तथा सडक सुरक्षा प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले गण्डकी प्रदेश प्रहरीले ‘सप्ताहव्यापी ट्राफिक सुरक्षा जनचेतना कार्यक्रम’ सुरु गरेको हो।
कार्यक्रम गण्डकी प्रदेश सरकारको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडा कास्कीको आयोजना तथा संयोजनमा सञ्चालन भइरहेको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पानसमा दीप प्रज्वलन र विद्यार्थीलाई हेल्मेट लगाएर सुरक्षित सवारी अभ्यास गराउँदै गरे।
उद्घाटन समारोह गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डिआइजी० दिनेशकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर के।सी। विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको अवसरमा प्रदेशका सबै जिल्लाहरूमा ट्राफिक सचेतनामूलक प्रभातफेरी आयोजना गरिएको थियो। “तीव्र गति जीवन क्षति”, “सुरक्षित सवारी हाम्रो जिम्मेवारी” लगायतका नारा अंकित प्लेकार्डसहित विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, सामाजिक संस्था, क्लब तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। सचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियो।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै यसलाई अझ बलियो बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेल, पोखरा महानगरका मेयर धनराज आचार्य, र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।
ट्राफिक कार्यालय गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले उपस्थितलाई स्वागत गर्दै विश्वव्यापी, राष्ट्रिय र प्रादेशिक सन्दर्भमा सडक दुर्घटनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरे।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सवारी दुर्घटना न्यूनिकरण प्रहरीको प्रमुख प्राथमिकता भएको भन्दै, प्रहरी सदैव नागरिकको सुरक्षामा प्रतिबद्ध रहेको स्पष्ट पारे।
सप्ताहभरिको कार्यक्रम अन्तर्गत चालकहरूको स्वास्थ्य परीक्षण, सडकमै सवारी प्रयोगकर्ताका लागि प्रशिक्षण, ग्रामीण क्षेत्र लक्षित सचेतना कार्यक्रम, सवारीमा ट्राफिक स्टिकर टाँस, ट्राफिक प्रहरीलाई चस्मा वितरण, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया, दीप प्रज्वलनसहित समापन कार्यक्रमलगायत हुने छन् ।










