पवन मरासिनी, स्याङ्जा भदौ ६/ मुक्तिनाथ विकास बैंकले शुक्रबार कालिका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ । स्याङ्जाको भिरकोट ७ स्थित बलमाटा झापाकोटमा रहेको कालिका पुस्तकालयलाई मुक्तिनाथ विकास बैंकले २० हजार रकम बराबरको पुस्तक प्रदान गरिएको मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य भरत प्रसाद लम्सालले जानकारी दिए । पुस्तकालयले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला तिज गित प्रतियोगिता एवम् दर खाने कार्यक्रमका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथले पुस्तक प्रदान गरेको लम्सालले बताए ।
तिज गित प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङले गरेका थिए । नेता गुरुङ सोही कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला स्याङ्जा आएका थिए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, भिरकोट नगर प्रमुख गोविन्द कर्माचार्य, उपप्रमुख भगवती अर्याल, मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य एवम् नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्साल, खुमा अर्याल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा, भिरकोट ७ का अध्यक्ष तारा अर्याल लगायतले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको महिमा र तिज गित प्रतियोगिताले तिजको मौलिकता जोगाउन सहयोग गर्ने कुरामा जोड दिएका थिए ।
पुस्तकालयका अध्यक्ष श्याम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सन्जु दोरङ्गाले गरेका थिए । सो कार्यक्रमको मुख्य प्रायोजक खुमा अर्याल फाउन्डेसन रहेको फाउन्डेसनका अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रममा कलाकारहरु घनश्याम रिजाल, तारा पौडेल लगायतको प्रस्तुतीमा अतिथी र दर्शक झुमेका थिए ।










