जिन्दगीका पन्ना धेरै गल्तीहरुले भरिएछ ! हाँसो गजबले लाग्यो जब मैले आफै तमासा बनिरहेको देखे । एउटा गल्तीको आभास हुँदैथियो मलाई, होस्टेल बसाईको क्रममा पुर्व बिद्यार्र्थीले छोडेर गएको डायरी जव मेरो हातमा परेको थियो । कथा, कविता, शुभकामना, चित्र कोर्ने लगायत सामान्य प्रवृतिबाट स्वतन्त्र थियो ऊ । मानौं उपन्यास नै हो जसरी लेखिएको थियो डायरी । केही समय आखाँ जुधाईपछि, बिनाकुनै कृति सरासर लेखिएका ती पन्नाहरु उपन्यास जस्तै देखिन्थे । साहित्यमा रुची भएकी म कहिलेकसो तरङ्ग आउँदा जिन्दगीलाई वाक्य दिएर पानामा उत्तार्न थोरैहदसम्म सफल पनि थिए । थोरै जानेका ती शब्दहरुले आर्कषित गर्दैगर्दा पनि म अनैतिक भएकी थिए । यसपटक आफ्नो नैतिकता त्यागेर अरु कोहीको ब्यक्तिगत भावलाई पढ्ने बुझ्ने निधो गरे मैले । मनले स्विकृति दिन केही समय नलिएको भने हैन् ! जीन्दगीको आफुलाई हेक्का भएको पहिलो अनैतिक काम गर्दै थिए यसपटक । अरुको केही कागज हेरेवापत्त हुने धमाकाहरु सम्झदै थिए टेलीश्रृङखलामा देखाइने अन्दाज जसरी । अरु कसैको जीवन भनौ कि कुनै अंशमा प्रवेश गर्नुपुर्व मनमा अलिकति डर अनि उन्मादको उत्साह पनि थियो । सिमित सामिप्यतामा रहेकी युवतीलाई अन्य अन्जान पात्रको जीवन भोगाइमा प्रवेश गर्नु अब उत्साह, चाहना र कौतुहलता मात्रै होइन, यौवनकालको आवश्यकता बनिसकेको थियो । डायरीमा लगाएका नजरहरुलाई आफैले महशुस गरेको भाकामा उतारे ।
‘म त्यति साहित्य जान्ने त हैन, तर पनि चेतना नै नहुने कुरामा पनि भावना दिएर लेख्न खोज्ने वानी परेछ कि क्या हो ! आज पानी र आकाश हेरेर निर्माण भएको दिलमा उर्लेका भेलहरु मनभित्र खेल्दैछु । खुल्ला आकाशका अप्ठाराहरु नियाल्दै थिए, बर्षातको छिटाहरुले मसंगै केही कागजलाई आफ्नो सुन्दरतामा निर्थुक्क पारीसकेछ । आँखाले मध्यदिनमै पारी क्षितिजमा अध्यारो ल्याएका एकहुल बादलको मिलन र बिछोड छुट्टाउदै थिए । छुटिएका अंशहरुले मलाई पानी बनेर आफ्नो सुन्दरता हेरेकोमा ओसिलो दण्ड दिदैरहेछन् । कतै संवाद सुनेकी थिए, ती दृश्य प्रेममय थिए । त्यो प्रेमको प्यारो सजायमा मैले उस्तै पे्रमिल महशुस गरे । क्षणमै वेगले चलेको हावा अनि घामको नजानिदो रापमा भर्खर पानीसंग बसेको प्रेम मबाट टाढिदै थियो ।
प्रेम घामसँग साटिदै जाँदा ओभानो हुदैगए । दिनको मेरो आनन्दको सहयात्री रातमा कति बेसुर बनेर अनिदोे कारण बन्न जान्छ । नैतिकता हराएको झरी, कतै प्रतिक्षाको भावमा फेरी सुमधुर संगीत नै बनिदिदो रहेछ ! आकाशको पानीमा साहित्य लगाएर पनि सके मैले यतिवेला । म रितिदै छु जस्तो लाग्यो कसैको प्रेममा होइन, आफ्नोपन प्रेममा नहुँदा । मेरो दिनरात एक एक गरिदिन्छ्रु चिन्तनमा मात्रै । लाग्छ किन यो कसैले मलाई नगरेको प्रेम म आफै आफुलाई गरुँ ! हुन त त्यस्तो प्रेमको कुनै अर्थ रहदैन जसले व्यक्तिलाई जिउने आधार दिन नसकोस् । सोच्छु मायाबाट पनि आफुलाई सम्हाल्ने उत्प्रेरणा दिन सक्दिन भने पक्कै ममा पनि दोष छ । म अपुर्ण छु कि अर्धचेतमा छु या पाइरहेको माया कर्तव्यको हो या औपचारिकताका ठम्याउन्न सक्दिन । छ्या ! म पनि एक नाटकमा परिवार, प्रेमिका हुँदाहुदै आत्महत्या गरेको युवकलाई देखेर प्रेमको दार्शनिक झै शब्द लेख्ने भएछु । अब विश्लेषक नै हुन्छु कि क्या हो ? हा ! हा ! हा !
प्रिय मेरा डायरीका पानाहरु, अनि कलम ! मेरो अप्रिय हाँसो अनौठो र दिक्दार त लागेन नि ? निर्जीवलाई प्रश्न गर्न पनि कला चाहिन्छ होला । सजिवसंग संवेगहिन हुनु पनि त कला नै हो । भबिष्यको कलाकार त हैन नि ? फेरि अति नमिठो असहज हाँसो हाँसे तर यसको आकृति शब्द कागजलाई दिइन । अनि प्रकृति साहित्य हैन त ? आज दुई तीन ऋतुको अध्याय सकेर मुटु कपाँउने जाडो जिएर पारी पहाडका चुचुराहरु सेताम्मे भएका छन् । आफु त्यो विधि सुन्दर भएर अरुलाई यसरी चिसोको उत्कर्षमा पुराउनु पनि हिउँको हिमाल पहाडसँग गासिएको पिर्तीको चिनो पनि होला सायद ! जसलाई हामी मान्छेहरु कयौ दिनसम्म कति चिसो हो छ्या भन्दै याद गरिदिन्छौ । स्ुन्दरता देखेर प्रसन्न हुनुपर्ने मेरो मन त्यो चिसोको दुःख मनाइरहेको छु । हुन त मान्छे पूर्ण भएपनि सुन्दर नहुने रहेछ । गुलाफ जस्तो बास्नादार ! पट्क्कै नहुने । त्यसैले मान्छे गुलाफ हैन छुच्चो, तिखो काँडा हो, जो हरठाँउमा घोचिरहन्छ । मन कस्तो छट्पटे किरा जस्तो । मनलाई यति बिचलित बनाउनु, हाम्रो अस्थिर मानसिकताको क्षीण बनेको बौद्धिकताको उपहार हो । ओहो !! मिस कति लेखेकी हुदो नहुँदो अब अलिक व्यबहारिक भैदेउन बाई ।
लौ तनी बढि भएको भए म भित्रको डरको कुरा गर्छु है ! हर कुराले मनमा डरलाग्दो गति समात्छ नी । त्यसैले कहिलेकाही आफुलाई अलिक पागल हुन लाइस कि के हो केटी भनेर सोध्छु । घरमा बिहेको कुरा सुन्दा पनि काँप्न थाल्छु । यो अर्थमा हैन कि म कोहीको प्रेममा छु । त्यो सामान्य परिवेशसँग म अनविज्ञ छु । म त अझै प्रेमको बास्तविकता खोज्ने भीडको मान्छे न हुँ, हिहिहि ! हिहिहि ! मलाई आफैमाथि शकां लाग्छ । विवाह पछिको व्यवहारिकता सम्हाल्न सक्ने दावेदार हँु जस्तो लाग्दैन । विवाहसगैं जन्मने सम्बन्ध, संस्कृति, संस्कार र पराइघरको चालचलन सम्हाल्न काविल छैन म । त्यो सबै जबरजस्ती हो जुन मलाई श्राप लाग्छ । म आफ्नो सामाथ्र्यमा अलिक सन्देह गर्छु, हा ! हा ! हा ! म पट्क्कै सक्दिन, मलाई पर्नुुछैन त्यो असामाजिक जालमा अनि कसिनु छैन बन्धनमा । दिनहुँ उनीहरुका घटना सुन्दा म आफ्नो पिताको घरमा कमसेकम आंशिक सुृरक्षित त छु नि जस्तो लाग्छ । मलाइ मसगँ राम्रो हुन्छ जस्तो नै लाग्दैन । विवाह प्रसंग सुनेको त्यो रात सासु, श्रीमानले दाइजोको निहुँमा जिउदै जलाएको सपना देख्छु । दुर्घटनामा श्रीमान गुमाएको देख्छु । कहिले श्रीमानको वंश अघि बढाउन बच्चा जन्माउँदा फेरिएको मेरो रुपलाई विकर्षणको श्रेय दिएर सर्वस्व नै सुम्पिएको देख्छु । कहिले श्रीमानको नसाको मातमा आफ्नो शरिर निलडाम देख्छु । दुर्घटना हुन्छ, प्राकृतिक विपद आउँछ । मुत्यु अरुको हुन्छ दोषी नारी हुन्छे । बोक्सी हुन्छे अनि निर्घात कुटपिटको, समाज निकालाको रंगमञ्च चलाइन्छ । यो संमवेदनहिन दृश्य देख्छु । निद्राको अपराधको डरले निर्ममतासंग हत्या हुन्छ अनि कम्पनसंगै पसिनाको साथमा बिउझ्न्छु । आफ्नो सोचाइको क्रम बढाउँछु । सम्बन्ध गाँसेपछि अस्मिता नसुम्प्दिाको विछोडको त्रास, अस्विकृत तथा स्विकृत सम्बन्धबाट एसिड आक्रमण, एकल तथा सामुहिक बलात्कार अनि सम्भवत हत्या ! यस्ता हजारौ डरबाट बाँचेका नारीको संख्या कति होला सोच्छु । गरीबलाई मात्र लागुहुुने फितलो कानुन, त्यहाँ तोकिएका अर्धदण्डका धारा उपधारा अनि हाम्रो समाज र संस्कारसँग डरमा जिउने नारीको तथ्याङक छ कि ? प्रश्न आफैमा उब्जिन्छ । हुनुपर्ने त होनी । आफैले उब्जिएका जिउंदै मर्न बाँध्य डरको लेखाजोखा नराख्ने कस्तो पागल प्रवृति है ?
उफ ! भावहरm शब्दमा आउँदासम्म सुर्यले बिहानी भेटिसकेछ । मन त्यही सम्भावित घटनाको त्रासमै छ । हुन त म हाम्रै कुण्ठित समाजकी चेली नहुँ । सबैले भोगेका ती नियति उपर मेरो के जोर चल्ला र ? म पनि त्यो कुनै घटनाको पिडित अवश्य हुनेछु । मनमा अनगिन्ती भाव र सोचाई अनि परिदृष्यले मनाई सताइरहन्छ । समाजका जिउदा चेलीहरु जो मृत्युपूर्व नै आत्महत्यामा बाँचिरहन्छन, तीनैको सम्झना झन बढि आउछ ।
सामाजिक अन्यायमा भिड्ने वाक्य हुनलाई कस्तोे तछाँडमछाँड गरेका मेरा शब्दले ! म भन्दा मेरा शब्द चन्चले नी है ? हा ! हा ! हा ! म जति शब्दको हाँसो यो कापीसँग हाँस्छु यति नै हाँसो समाजसँग हाँस्थे भने कस्तो हुन्छ होला है सोच्छु एकैछिन । फलानाकी छोरी बौलाइछ भन्थे होलान् । कुखरी वाँसे भन्थे होलान् । साच्चिकै छोरी हुनु एक डर हो रहेछ । हिंसा र उत्पिडनको उम्मेदार हुनुपर्ने डरको प्रतिमुर्र्ती रहेछ । शारिरीक, मानसिक, सामाजिक हरसम्भव हिंसाको मुख्य पात्र होै हामी । जसले जीवनमा दरिद्रता अवश्य झेल्नुछ ।
छोराहरु पनि सामाजिक उत्पिडनबाट अछुतो भने हैनन् । भावना पोख्न सहज हुनलाई आँशुु साथीे रहेछ, तर त्यो सानो स्वभाविक प्रकृयामा पनि कुस्संकार राखेर रmने स्वतन्त्रता पुरुषलाइ भने छैन नि ! मान्छेलाई आफु खुशी हुनसक्ने हरेक पाटाहरmलाई बन्द गर्न सक्ने शक्ती समाजमा छ, जसलाई सुखी राख्न सो गर्नु उचित थियो है भन्ने भ्रममा स्वरुप दिइन्छ । समाजमा खुशी भएकाको गन्ती कोहीसगँ छैन तर घमण्ड सबैसँग छ । गिन्तीका जीवनहरुले सहजै आत्महत्या गरेर बाँकी असहज जीवनलाई ढाकछोप गरिदिएका छन् । गीत गाउनु, नाँच्नु, प्रकृतिसँग रमाउनु गरेर खुशी हुनसक्ने व्यक्तिलाई उसको पेशागत मर्यादाले दिदैन भनेर, लाज हुन्छ भनेर पो रोकिन्छ । लेख्नमा पोख्त एक अविवाहित नारीले विधुवा पिडा, वेश्यालयको बाध्यता, बलात्कारपछिको जीवनका विषयमा शब्द दिनुलाई ऊ स्वयम पिडित हो, अभद्र हो, चरित्रहिन हो, असामाजिक हो जस्ता संज्ञा दिईन्छ ।
म किन यस्तो कुरा गर्छु है मेरो प्रिय कागजसँग ? हो म हर त्यो ठाउँमा गलत छु जहाँ म खुशी हुन चाहना राखे । तराइलाई परेको बाढी र पहाडको पहिरोको चिन्तामा, दिनहुँका हत्या, बलात्कारका घटनामा मैले आँसु झारेर, त्यो आफ्नै मन्दिर बग्न दिने भगवानलाई प्राथना गरे । आफुले रत्तिभर सुधार्न नसक्ने पक्षको असामान्य चिन्ता लिनु हरदुःखी मानिसको स्वनिर्मित दुःख अनि आफनै कमजोर मानसिकताको दासत्व हो । तर मसँगै हुर्किएका यी अदृश्य डरको अन्त्य कहाँ छ ? समाधान छ कि अन्य कुनै भयानक डरमा फेरिनेछ । सामान्य परिबेस अंगाल्न नसकेर भागेकी म लाखौले भोगेको ती सपनाका पिडा सहन कदापी सक्दिन् । डरको जिन्दगी र अनिश्चित नियतिभन्दा मलाई नदेखेको स्वर्ग अनि स्थायी मृत्यु सुन्दर लाग्न थाल्छ । यसरी दिनहुँ मरेर त किन म सृष्टी जोगाउन लागुम र ?’
पहिलो अनैतिक कदमले मलाईइ समाजसंग साक्षात्कार गरायो । कोही व्यक्तिको आफ्नो अन्त्यसंगको निश्कर्षले वेवास्ता गरिएका पाटाहरुप्रति सोच्नैं पर्ने बनायो । मैले डायरीमा भेटेकी पात्रले डरको जीवन रोजी कि कायरतासंगको मृत्यु मनभरी उकुसमुकस भयो । जानकारी लिन त उसको बारेमा खोजे तर सकिन । आशा राखे कुनै दिन उ आवोस अनि आफ्नो छुटेको जीवन लगेर जावोस । भेटमा म उसको मित्र बन्ने सपना राखे । खुलेर रुन लाग्दा संकोच मान्ने समाजले बन्न नदिएको समबन्ध म हरेकको जीवनमा बनुँ । सोचे, हाँस्नको लागी खुलेर बीचमै बन्द भएको ओठको भाव बझ्न सकोस । त्यस्तोसाथ जसले उसको भावनाहरु, दुःखहरु सुनोस । पिडा सुनाउने प्रतिस्पर्धा स्विकार्य छैन मलाई । केही मिनेटको भावनात्मक संंवेगलाई सहन नसकेर असन्तुलित न्युरो केमिकलको दासत्वमा गुमाउने जीवनको गिन्तीकम गर्न सक्ने सामाथ्र्य सबैमा छ भन्ने बुँझे । मस्तिष्क डुलीरह्यो त्योसंग साथी बन्न हिचकिचाह्ट म गर्ने छैन ।
शर्मा मेडिकल ल्याबोरटरी टेक्नोलोजिको स्नातक तहको विद्यार्थी हुन ।
ढोरपाटन न्युजबाट साभार










