स्याङ्जा मंसिर ६/ सधैँ विद्यालय पोषाकमा कापी,कलम, किताब झोलामा बोकेर हिड्ने स्याङ्जाका विद्यार्थीहरु शुक्रबार फरक दृष्यमा देखिए । थियो त उनीहरुको हातमा पञ्चेबाजाको सेट । यो दृष्य हो गण्डकी प्रदेश सरकार अन्तर्गतको एकिकृत सेवा कार्यालय स्याङ्जाले विश्व बाल दिवसको सन्दर्भमा स्याङ्जा सदरमुकाम स्थित भु.पू. सैनिक आवासिय माध्यमिक विद्यालयमा आयोजित बालबालिका समूहको जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगिता कार्यक्रमको ।
जिल्लाका विभिन्न स्थानीय तहबाट ८ वटा बालबालिकाको समूह सहभागी प्रतियोगितामा जनता मा.वि. कालिगण्डकी प्रथम भएको छ । बाल अधिकारका विषयवस्तु समेटिएका गीत र नृत्य सहित प्रस्तुत भएको सो प्रतियोगितामा आँधिखोला गाउँपालिकाको जनहित मा वि ले द्वितीय स्थान हात पार्दा तृतीय र सान्तवना स्थान पुतलीबजार नगरपालिकाका क्रमश लामाके बाल बाजासमूह र सरस्वती मावि नाँगडाँडाले प्राप्त गरे ।
प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालय/ पञ्चेबाजा समुहले क्रमश नगद १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपिया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रमका बोल्दै गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले बहुआयमिक पञ्चेबाजा प्रतियोगिताले बालबालिकाको मौलिक संस्कृतिप्रतिको रुचि बढाउने र संस्कृति संरक्षणमा समेत टेवा पुर्याउने विश्वास उहाँले व्यक्त गरे । उनले सबै पक्षको एकिकृत पहलले नै बालमैत्री शासन स्थापित गराउन सकिने बताए ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले संस्कृतिको पुस्तान्तरण, संरक्षणको साथै गायन र पञ्चेबाजाको संगीत मार्फत् बालबालिकाको अधिकार, आवाज र प्रतिभाको प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा आदर्श सोनामले उत्कृष्ट सहनाइ बादकको पुरस्कार हात पारेका थिए भने उत्कृष्ट ढोलकी बादकको पुरस्कार राहुल परियारले प्राप्त गरे । यसैगरी कुशल परियारले बाल प्रतिभा प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रतियोगिताकै दौरान लोक गायक तथा सर्जक लोकनाथ सापकोटाले आफ्ना उत्कृष्ट गीतहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा राष्ट्रिय संगितकर्मी संघका जिल्ला अध्यक्ष बुद्धि बहादुर परियार, पञ्चेबाजा विज्ञ एवं संगीतकर्मी रेशम दर्जी र पुतलीबजार प्रज्ञाप्रतिष्ठानका सदस्य रामचन्द्र परियार निर्णायकको भुमिकामा रहेका थिए । जिल्ला बाल सञ्जाल स्याङ्जाकी अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन संचारकर्मी विक्रम परियारले गरेका थिए ।
हरेक वर्ष राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा नोभेम्बर २० तारिखको दिनमा विश्व बाल दिवस मनाउन थालिएको हो ।










