अर्जुन खनालको कडा अभिव्यक्ति ‘हिन्दू राष्ट्र बेचियो, अबको मत धर्म र राष्ट्रिय स्वाभिमानको पक्षमा’

अर्जुन खनालको कडा अभिव्यक्ति  ‘हिन्दू राष्ट्र बेचियो, अबको मत धर्म र राष्ट्रिय स्वाभिमानको पक्षमा’
२०८२ फाल्गुण १५ गते शुक्रबार ०७:३१

पोखरा फागुन १५/ कास्की–३ का प्रतिनिधि सभा सदश्यका उम्मेदवार अर्जुन खनालले हिन्दू राष्ट्रको पक्षमा कडा अभिव्यक्ति दिएका छन्। उनले भने, “हिन्दूहरूको हातले हालिएको भोट सदनमा लगेर दुरुपयोग गरियो, हिन्दू राष्ट्र बेचियो र हिन्दू समुदायलाई...

पोखरा फागुन १५/ कास्की–३ का प्रतिनिधि सभा सदश्यका उम्मेदवार अर्जुन खनालले हिन्दू राष्ट्रको पक्षमा कडा अभिव्यक्ति दिएका छन्। उनले भने, “हिन्दूहरूको हातले हालिएको भोट सदनमा लगेर दुरुपयोग गरियो, हिन्दू राष्ट्र बेचियो र हिन्दू समुदायलाई आत्मसम्मानमा चोट पुग्ने काम भयो।” खनालका अनुसार जनताको विश्वास जितेर सत्तामा पुगेका नेताहरूले जनभावना विपरीत निर्णय गर्दै देशको पहिचान नै परिवर्तन गर्ने प्रयास गरेका छन्, जुन नेपाली जनतामाथि अन्याय भएको उनको दाबी छ।

उनले विशेषगरी जनआन्दोलन २०६२–६३ को प्रसंग उठाउँदै भने, “त्यो आन्दोलनको एजेन्डामा न संघीयता थियो, न धर्मनिरपेक्षता। ती विषयहरू रातारात ‘सेटिङ’ गरेर ल्याइयो र नेपाली जनताको चाहनाविपरीत संविधानमा राखियो।” खनालको आरोप छ कि सीमित राजनीतिक स्वार्थका लागि राष्ट्रिय मुद्दाहरूलाई तोडमोड गरिएको छ र बहुसंख्यक नेपालीको धार्मिक तथा सांस्कृतिक भावनालाई बेवास्ता गरिएको छ। उनले अब विगतका गल्ती सच्याउने समय आएको जिकिर गर्दै भने, “धर्म बेच्ने, राष्ट्र बेच्ने र जनताको विश्वास तोड्ने प्रवृत्तिलाई अब नेपाली जनताले पराजित गर्नुपर्छ। देशको मौलिक पहिचान, आस्था र सभ्यताको संरक्षणका लागि जनताले सचेत भएर निर्णय लिनुपर्ने बेला आएको छ।”

खनालका अनुसार नेपाल हजारौं वर्षदेखिको सनातन परम्परा र संस्कृतिको धरोहर हो, जसलाई राजनीतिक स्वार्थका लागि कमजोर बनाउन खोजिएको छ। उनले जनतालाई अपिल गर्दै भने, “अब चुप लागेर बस्ने समय होइन। आफ्नो धर्म, आफ्नो अस्मिता र आफ्नो राष्ट्रको रक्षाका लागि सचेत र संगठित हुने बेला आएको छ।” उनले आगामी निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई राष्ट्रको पहिचान जोगाउने अभियानको रूपमा लिन आग्रह गर्दै स्पष्ट शब्दमा भने, “अबको मत केवल उम्मेदवारको लागि होइन, आफ्नो धर्म, संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा हुनेछ।”

प्रकाशित मिति २०८२ फाल्गुण १५ गते शुक्रबार ०७:३१
प्रतिक्रिया दिनुहोस्