गीतले तीजको मर्ममाथी प्रहार गरेको गुनासो
गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथी प्रहार गरेको गुनासो धेरैको छ । स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ । कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ रु भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरुले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई वेवास्ता गरे संस्थागत रुपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।
गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण पत्र काटिएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।
प्रतिष्ठानले दुर्गेशको नाममा काटेको पत्रमा लेखिएको छ–‘विगतका वर्षहरु जस्तै यस वर्ष पनि तीज पर्व नजिकिँदै जाँदा गीतसंगीतका माध्यमबाट आफ्ना गीति अभिव्यक्तिहरु प्रस्तुत गर्दा हजुरको आगामी तीजगीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्द विषयपरक तीज गीतका नाममा समाजमा संप्रेशित हुन उचित नलागेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अन्तर्गत गठित विकृति विसंगती न्यूनिकरण समितिले ठहर गरेकोले यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतीमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भईदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र ईमान्दारिता नै ठूलो हो न कि पैसा र चर्चा ।’
संस्थाको आग्रहलाई वास्ता नगरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ । प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आईतबार प्रतिष्ठान केन्द्रिय कमिटीको बैठक समेत डाँकिएको छ ।
यस्तो छ गीत हेर्नुहोस
यो पनि पढ्नुहोस
गायकहरुलाई भगवान भण्डारीको आग्रह–‘आफू मर्दा बजाउन सकिने गीत त गाउनुहोस्’

‘हामीले उहाँलाई पत्र काटेरै ध्यानाकर्षण गराएका थियौं । तर, उहाँले प्रतिष्ठानको केही मतलब छैन । म आफ्नो तरिकाले अगाडि बढ्ने हो भन्ने खालको जवाफ दिनुभयो’ प्रतिष्ठानका एक पदाधिकारीले भने–‘आईतबारको बैठकमा हामी उहाँलाई संस्थागत रुपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजिवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौं ।’ प्रतिष्ठानका पदाधिकारीहरु राज्यले नै खुला छोडिदिएको हुनाले आफूहरुले नियन्त्रण गर्न नसक्ने धारण राख्छन् ।
सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारवाही हुनुपर्ने प्रतिष्ठानको धारणा छ । ति पदाधिकारीले भने, ‘हामीले नैतिक रुपमा भन्ने हो । अनुरोध गर्ने हो । नमानेर कोही नाङ्गै हिड्छ भने हामीले गर्ने के ?’











