गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने जनाउनुभएको छ ।
शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बन्नुभएका उहाँले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताउनुभएको थियो । विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताउनुभएको हो ।
‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु,’ उहाँले विजेता भएपछि भन्नुभएको थियो ।

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधिको छिनोफानो भएको हो । उहाँले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जित्नुभएको थियो । हाल अमेरिका बस्दै आउनुभएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिनुभएको जनाईएको छ ।
हेर्नुहोस- भ्वाइस अफ नेपाल सिजिन ३ फाईनलको भिडियो












