शनम शाक्यको हत्यासँगै खुलेको साढे ३३ किलो सुन तस्करीको अनुसन्धानका क्रममा ईश्वरराज पौडेलको नेतृत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष थियो, ‘तीन वर्षमा ३८ क्वीन्टल सुन तस्करी भयो ।’
तस्करी भएको सुन त बरामद भएको थिएन, तर सरकारले तस्करीको र्याकेट ध्वस्त बनाउन सफल भएको बतायो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २३ जेठ २०७५ मा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘सुरुमा भुरा माछा समातिए, त्यसपछि मझौला समातिएका छन् । माछा मार्ने क्रम जारी छ । अनुसन्धान जति नजिक पुग्छ, त्यति ठूला माछा छटपटाइरहेका छन् ।’
तर तीन वर्षसम्ममा ठूला माछा त समातिएनन् नै, ‘मझौला र भुरा माछा’ भनिएकाहरुले समेत न्यायिक छिनोफानोमा सुरुको अदालतबाटै सफाइ पाएका छन् ।
प्रमाण जुटाउनुभन्दा पक्राउ श्रृंखलालाई प्राथमिकता दिँदा सुन तस्करीको आरोपमा पक्राउ परेका सबैले सफाइ पाएका हुन् । यतिसम्म कि सरकारी वकिलले मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले समेत सुन तस्करी गरेको पुष्टि गर्न सकेन । ज्यानसम्बन्धी कसूरमा भने गोरेसहित आठ जना दोषी ठहर भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले ७७ जनालाई प्रतिवादी बनाएर दायर गरेको अभियोग पत्रमा तीन वटा मुद्दा थियो, ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान ।’
जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान तथा अरु ७ जनालाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको छ । अर्थात्, सुन तस्करीमा कोही पनि दोषी ठहर भएनन् ।
अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार कर्तव्य ज्यानमा मुख्य आरोपी भनिएका चुडामणि उप्रेती ‘गोरे’, उनका सहयोगी टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ । यस्तै राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय सुनाइएको छ ।
राणा भन्छन्, ‘अपहरणको कसूरमा एक महीनाभित्र सजाय निर्धारण हुन्छ ।’ प्रकरणमा मुद्दा चलाइएका ७७ जनामध्ये २१ जना फरार थिए, उनीहरुको मुद्दा मुल्तबीमा राखिएको छ । अन्यलाई अदालतले मंगलबार सफाइ दिएको छ ।
सुन तस्करीमा पुगेन प्रमाण
सरकारी छानबिन समितिको अनुसन्धानमा टेकेर जिल्ला प्रहरी कार्यालय, मोरङले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, मोरङमा बुझाएको थियो । अनुसन्धानका क्रममा समितिले एउटा भिडियो बरामद गरेको थियो, जसमा गोरेले शाक्यलाई करेन्ट लगाएर यातना दिएको देखिएको थियो ।
भिडियोमा तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाएको देखिन्थ्यो । गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ, भन्छस् भने भन् । नत्र पेट्रोल खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएका थिए । यही फुटेजलाई अदालतले कर्तव्य ज्यान र अपहरण सम्बन्धी कसूरको बलियो प्रमाण मानेको छ र दोषी ठहर गरेको छ ।
तर सुन चोरी निकासी तथा पैठारीमा अभियोग पुष्टि गर्ने आधार प्रहरीले बुझाउन नसकेको पाइएको छ ।
प्रहरीले तस्करी भएको भनिएको सुन खोज्नेभन्दा बयानका आधारमा पोलिएका व्यक्तिहरुलाई पक्राउ गर्ने सिलसिलामा ध्यान दिँदा अनुसन्धान कमजोर भएको देखिएको छ ।
‘भन्सार ऐन, २०६४ को समग्र कानूनी व्यवस्था हेर्दा भन्सार चोरी निकासी र पैठानी हुन मालवस्तु बरामद भएकै हुनुपर्ने अवस्थाको परिकल्पना गरिएको छ’ फैसलाको रायकिताबमा न्यायाधीश लम्सालले लेखेका छन्, ‘नेपालमा अवैधरुपमा सुन चोरी पैठारी निकासी गरिएको भनिएको सुन बरामद गरी दशीको पेश गर्न अभियोजन पक्षले नसकेको देखिन्छ ।’










