बागलुङ क्षेत्र नम्बर २ का संघीय सांसद देबेन्द्र पौडेल मन्त्री बन्ने हुनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर १ बलेवा अमलाचौर घर भए पनि माओवादी र एमाले गठबन्धन हुँदा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचन जित्नुभएका पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने पक्का भएको हो । निर्वाचन हुँदा ताका नै मन्त्रीको रुपमा प्रचार गरिए पनि उहाँले अहिलेसम्म मन्त्री बन्ने मौका भने पाउनुभएको थिएन ।
बुधबार बसेको माओवादी केन्द्रको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउँदा पौडेलको नाम पनि समावेश गरिएको हो । स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीबाट मन्त्री बन्ने सूचीमा पहिलो नम्बरमै पौडेलको नाम रहेको छ । उनीसंगै शशी श्रेष्ठ, महेश्वर गहतराज पनि सरकारमा जानेछन् ।
बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । मन्त्रीको टुंगो लागे पनि उनीहरुले सम्हाल्ने मन्त्रालयको भने अझै पनि टुंगो लाग्न बाँकी रहेको छ ।










