नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघले बुर्तिबाङमा आयोजना गरेको छैठौं राष्ट्रिय राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको शनिबार औपचारिक उद्घाटन गरिएको छ । आयोजित प्रतियोगिता शुक्रबार देखि सुरु भएपनि उद्घाटन भने शनिबार गरिएको जनाइएको छ ।
प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले दिप प्रज्वलन गरी प्रतियोगिताको विधिवत उद्घाटन गर्नुभएको नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुल बहादुर बुढा कुशलले बताउनुभयो । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख नेपालीले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । बागलुङ जिल्लामा पनि खेलकुदको पर्याप्त सम्भावना रहेको बताउदै यस क्षेत्रमा खेलकुद सम्वन्धी विभिन्न पुर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभयो ।
थप बोल्दै नगर प्रमुख नेपालीले भन्नुभयो, बागलुङका खेलाडीले विभिन्न विधाका खेलमा अन्तराष्ट्रिय स्तर सम्म पहिचान बनाउन सफल भएका छन्, उनिहरुको संरक्षण तथा प्रोत्सहान पनि निकै आवश्यक छ । सबैका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले राम्रो खेलाडी उत्पादन गर्न सरकारले आवश्यक कदम चाल्न आवश्यक रहेको पनि नगर प्रमुख नेपालीले बताउनुभयो । सोही अवसरमा नेपालीले नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघलाई व्यक्तिगत रुपमा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको छ ।
यस्तै विशिष्ट अतिथि म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सिकाउने बताउनुभयो । समय समयमा आयोजना हुने प्रतियोगिताहरूले पनि मुलुकको खेलकुदमा विकासको ढोका खोलेको उहाँको भनाई छ । अध्यक्ष रोकाले पनि महासंघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
नेपाल चाङहुन अन्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, नेकपा एमालेका टंक प्रसाद पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
महासंघका सदस्य अुनप बुढा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन भने महासचिव रमेश विश्वकर्माले गर्नुभएको थियो । प्रतियोगिता आज सकिने आयोजकले जनाएको छ ।












