‘म यस्तो गीत गाउँछु २’ मा उत्साह, सुरुवाती कमाइ नै २ करोडमाथि

‘म यस्तो गीत गाउँछु २’ मा उत्साह, सुरुवाती कमाइ नै २ करोडमाथि
२०७८ फाल्गुण १६ गते सोमबार ०२:१७

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ ले उत्साहजनक सुरुवात गरेको छ। निर्माण टोलीका अनुसार फिल्मले पहिलो तीन दिनमा दुई करोडमाथिको कारोबार गरेको हो। फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्माले फिल्मको...

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ ले उत्साहजनक सुरुवात गरेको छ। निर्माण टोलीका अनुसार फिल्मले पहिलो तीन दिनमा दुई करोडमाथिको कारोबार गरेको हो।

फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्माले फिल्मको शुक्रबार र शनिबारको बक्स अफिस कलेक्सन सार्वजनिक गरेकी छन्। उनका अनुसार फिल्मले पहिलो दिन ७० लाखको कमाइ गरेको थियो भने दोस्रो दिन शनिबार एक करोड १० लाख कमाएको थियो। त्यस्तै, आइतबार पनि फिल्ममा दर्शकको चाप नघटेको र फिल्मको पहिलो तीन दिनको कमाइ दुई करोडमाथि पुगेको निर्माण टोलीले जनाएको छ।

फिल्म प्रदर्शनको दुई दिनअघि यसका मुख्य अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा लागेपछि पलसँगै फिल्म पनि विवादमा मुछिएको थियो। तर, पहिलो तीन दिनको कमाइले उक्त विवादले फिल्मको व्यापारमा सकारात्मक असर गरेको देखिएको छ।

यतिबेला पल प्रहरी हिरासतमा रहेका छन्। उता हलमा दर्शकको चाप भने घटेको छैन। शिवरात्रिको समय पारेर अधिकांश हलले फिल्मको सो बढाएका छन्।

फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ भने समीक्षकले भने यसलाई कमजोर फिल्म बताएका छन्। सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म कोरोनाका कारण दुई वर्ष रोकिएको थियो।

प्रकाशित मिति २०७८ फाल्गुण १६ गते सोमबार ०२:१७
प्रतिक्रिया दिनुहोस्