‘भारतीय फार्माकोपियामा ६५० एमजीको सिटमोल दर्ता भई प्रयोगमा आएको र कोरोना महामारीमा बढी वजनको सिटामोल अत्याधिक प्रयोग भएकाले पनि वजन बढाउनुपरेको हो,’ केसीले भने ।
भारतीय फार्माकोपिया औषधि स्तर नियमावली २०४३ अनुसार औषधि स्तरको लागि नेपाल सरकारले मान्यता दिएको छ । विभागले नियमावलीमा टेकेर विज्ञ सल्लाहकारका राय अनुसार वजन थप गरिएको कारण देखाएको छ । औषधि उत्पादकहरुबाट सिटमोल ६५० एमजीको दर्ता गर्नका लागि अनुरोध आएसँगै विभागले चिकित्सक संघको रायको लागि सुझाव मागेको थियो ।
‘ज्वरो, समान्यदेखि माध्यम दुखाइ र खोप पश्चात सिफारिस गरेकोमा नेपालीहरुमा बडीमास इन्डेक्स अनुसार उपचारात्मक दायरा भन्दा माथि हुने हुँदा सिटामोल ६५० एमजी सुरक्षित तथा विभिन्न स्वास्थ्य अवस्थामा प्रभावकारी हुने राय आएको छ,’ समितिको ५३औं बैठकको कार्यसूचीमा भनिएको छ ।
पूर्व स्वास्थ्य प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भने नेपालीलाई ५०० एमजीको सिटामोलले राम्रोसँग काम गर्ने बताउँछन् ।
‘उत्पादकहरुले मूल्य बढाउनका लागि ६५० एमजी बनाउन केन्द्रित भएका हुन्,’ प्याकुरेलले भने, ‘बजारमा भएका सिटामोलको गुणस्तर अनुगमन भएको छैन । यदि गुणस्तर कायम गर्नसक्ने हो भने ५०० एमजीको सिटामोल प्रभावकारी रुपमा काम गर्छ ।’
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ अहिलेसम्म नेपालमा ६५० एमजी सिटामोलको क्लिनिकल परीक्षण नभएको बताउँछन् ।
‘सीमित उत्पादकले बढी मूूूल्य लिने पाउने स्वार्थमा गरिएको यस्तो गलत, अनुचित, उपभोक्ताको जीवनमाथि हुने गम्भीर खेलबाड गर्ने निर्णय हो । उपभोक्ता ठग्ने नियतले गरिएको दीर्घकालीन प्रभाव पार्ने निर्णय देखादेखी नीतिगत भ्रष्ट्राचार हो,’ बानियाँ भन्छन् ।
त्यसैगरी, त्रिवि शिक्षण अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. रविन हमाल सिटामोलको डोज मानिसको तौल अनुसार निर्धारण गरिने बताउँछन् ।
‘प्राय जसो हामीले बिरामीलाई ५ सय एमजीकै सिटामोल दिइरहेका छौं । तर, ५० बर्षभन्दा माथिका एक पटकमा आवश्यकता अनुसार ३५० एमजी देखि १ ग्रामसम्म दिन मिल्छ,’ हमालले भने, ‘साइड इफेक्टको हिसाबले जति औषधि कम गर्यो उति राम्रो हुन्छ ।’
‘२४ घन्टामा वयस्क व्यक्तिले तीन ग्रामभन्दा बढी सेवन गरेको अवस्थामा हानिकारक हुन्छ । एक हप्ताभन्दा बढी लगातार औषधि सेवन गरेमा कलेजो फेलसम्म हुनसक्छ’, डा. हमाल भन्छन् ।
चिकित्सक संघले सिटामोल अनिवार्य रुपमा चिकित्सकको निगरानीमा प्रयोग गनुपर्ने सुझाव दिएको छ । तर, नेपाली बजारमा फार्मेसी नपढेका व्यक्तिले पनि औषधिको बिक्री–वितरण भइरहेको छ ।
विभागका कर्मचारीहरु भोलिका दिनमा उत्पादकहरुले ५०० एमजीको सिटामोल उत्पादन गर्न छोड्ने टिप्पणी गर्छन् ।
५ सय एमजीभन्दा बढी डोजका औषधिको मूल्य निर्धारणका लामो प्रक्रियामा जानुपर्ने हुन्छ । औषधि परामर्श समितको सिफारिसमा स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँछ । त्यसपछि राजपत्रमा प्रकाशित भएपछि मात्रै औषधिको मूल्य निर्धारण हुन्छ ।
‘सरकारले ५ सय एमजीको सिटामोललाई मूल्य बढाएको भए औषधि उत्पादकहरुले वजन थप्ने चाल चल्दैन थिए । औषधिको मूल्य निर्धारण गर्न लामो समय लाग्छ’, ती कर्मचारी भन्छन्, ‘उत्पादकहरुले ५ सय एमजीको सिटामोल उत्पादन गर्दा घाटा लाग्ने भएपछि भोलि उत्पादन गर्न छोडछन् ।’
‘खुलेआम ६५० एमजीको सिटामोल बिक्री–वितरण हुने भएपछि गाउँ–गाउँमा पुग्छ । जसको मार सबैभन्दा बढी बालबालिकालाई पर्ने देखिन्छ । त्यसको असरको जिम्मेवारी को–लिन्छ ?,’ बानियाँ प्रश्न गर्छन् ।
विभागका प्रवक्ता केसी औषधि डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने बताउँछन् । ‘मूल्य छुट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्ट्रिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ केसीले भने । नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।










