प्यूठानमा खोलामा आएको बाढीले बगाउँदा एक ब्यक्ति बेपत्ता रहेका छन्।
मंगलबार साँझ साढे ६ बजेतिर मल्लरानी गाउँपालिका वडा नम्बर ३ का करिब ४१ वर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए।
सडक निर्माणको काम गर्ने बिकलाई काम सकेर घर जाने क्रममा मंगलबार साँझ छापेखोलाले बगाएर बेपत्ता बनाएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए।
यस्तै रोल्पामा अबिरल वर्षाका कारण चारवटा घर भत्किएका छन्।जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिए।
थबाङ गाउँपालिका वडा नम्बर १ मा दुई वटा, गंगादेब गाउँपालिका वडा नम्बर १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नम्बर ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुवेदीले सेतोपाटीलाई बताए। कुनैपनि मानबिय क्षति भने नरहेको उनले जानकारी दिए।
त्यस्तै अबिरल बर्षाका कारण ठाउँ ठाउामा झरेको पहिरोको कारण दाङसंग सीमाना जोडिएका पहाडी जिल्लाहरुको आवात जावात ठप्प भएको छ।
दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडक खण्डको ठाउँ ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।पहिलो हटाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको भएपनि अविरल वर्षा र पहिरो निरन्तर झर्नै क्रम जारी रहेको हुँदा संभव नभएको उनले जानकारी दिए।
अविरल वर्षापछि खसेको पहिरोले गर्दा दाङ–सल्यान सडक खण्डपनि मंगलबार बेलुका ५ बजेदेखि बन्द रहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापाका अनुसार राप्ती लोकमार्ग अन्तरगर दाङ–सल्यानको सीमाना क्षेत्र कपुरकोट नजिकै झरेको पहिरोका कारण सडक खण्ड अबरुद्ध भएको हो।










