अकटाक्ष (उल्लास मक्रातीको कविता)

no-image

- उल्लास मक्राती

@समय नेपाल

२०७८ असार ४ गते शुक्रबार १०:०४

परीक्षाको कलममा सपना रेट्ने धार रै'छ अखबारको शीर्षकमा बुनेहरूको गुहार रै'छ डिग्रीवाला युवालाई हर दिन शनिबार रै'छ कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै'छ भाइमाराको गलामा तीस किलोको हार रै'छ देश जाओस् भाड में तिनको नैयाँ पार...

परीक्षाको कलममा सपना रेट्ने धार रै’छ
अखबारको शीर्षकमा बुनेहरूको गुहार रै’छ
डिग्रीवाला युवालाई हर दिन शनिबार रै’छ
कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै’छ

भाइमाराको गलामा तीस किलोको हार रै’छ
देश जाओस् भाड में तिनको नैयाँ पार रै’छ
सर्वहारा नेताज्यूको सिसाको दरबार रै’छ
कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै’छ

चुनाव चिह्नको करौँती जिब्रो रेट्ने तरबार रै’छ
करारवाला खरिदारको आफ्नै यहाँ घरबार रै’छ
समृद्धिको सरकारलाई फेसबकुमा काटमार रै’छ
कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै’छ

पैसा खेस्रा सस्तो यहाँ महँगी बेच्ने बजार रै’छ
शहीदको छोरालाई अरब जान हतार रै’छ
भाइ पढाउन शहर आ’की लीला नाँच्ने बार रै’छ
कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै’छ

मास्कले छोपी फेर्नुपर्ने शुद्ध हावाको बहार रै’छ
डाक्टर सा’पको घाँटीमा टीबीवाला खकार रै’छ
देशभक्त एउटा नेता भट्टीमा लाचार रै’छ
कारैकारको काठमाण्डू त वास्तवमै बेकार रै’छ ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:०४
प्रतिक्रिया दिनुहोस्