संसद विघटनविरुद्ध जनपरिचालन

संसद विघटनविरुद्ध जनपरिचालन
२०७८ असार १० गते बिहिबार ०६:२६

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनले सहमति गरेको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेका हुन् । नेपाली कांग्रेस सभापति शेरबहादुर...

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनले सहमति गरेको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै सरकारविरुद्ध दबाबमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

गठबन्धनका शीर्ष नेताहरुले आज बिहीबार पछिल्लो राजनीतिक घटनाक्रमबारे वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्नेछन् । आज हुने भनिएको बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, यस्तै एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति २०७८ असार १० गते बिहिबार ०६:२६
प्रतिक्रिया दिनुहोस्