पोखरा,भदौ २६/पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय अन्तरगर्त रहेको सोसल सर्भिस क्लबको सक्रियतामा भोटेकोसी बाढीपहिरो प्रभावित नागरिकका लागि २ लाख १० हजार ५ सय ६९ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कक्षा १२ मा अध्ययनरत सोसल सर्भिस क्लबकी अध्यक्ष विद्यार्थी जेनिफा गुरुङले जानकारी दिइन् । विद्यालय तहबाट प्याब्सन कास्कीमार्फत ६० हजार रुपैयाँ विद्यालयको तर्फबाट, शिक्षक तथा कर्मचारीतर्फबाट ३४ हजार ५ सय ५२ रुपैयाँ र विद्यार्थीबाट २६ हजार ३ सय ५० रुपैयाँ संकलन गरी सहयोग गरिएको हो।
यस्तै, कलेजतर्फबाट ५० हजार रुपैयाँ, शिक्षक तथा कर्मचारीको तर्फबाट १८ हजार २ सय ३२ रुपैयाँ र विद्यार्थीबाट २१ हजार ४ सय ३५ रुपैयाँ संकलन गरी हिसान मार्फत सहयोग गरिएको विद्यालयका प्रिन्सिपल सन्द्रराज श्रेष्ठले बताए।विपद्को कठिन घडीमा मानवीय संवेदना र राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले विद्यालय परिवारका विभिन्न पक्षबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको क्लबकी अध्यक्ष गुरुङले बताइन्। अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यालय परिवारप्रति सोसल सर्भिस क्लबले धन्यवाद व्यक्त गरेको छ।
गण्डकी प्रदेशकै पहिलो निजी विद्यालयका रूपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले विगत १७ वर्षदेखि कक्षा १२ सम्म विभिन्न विषयमा पठनपाठन गराउँदै आएको छ। विद्यालयमा हाल म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, माउन्टेनेरिङ र कम्प्युटर साइन्स विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।










