स्याङ्जामा मनाइयो ४३ औं बी पी स्मृति दिवस

स्याङ्जामा मनाइयो ४३ औं बी पी स्मृति दिवस
२०८२ साउन ८ गते बुधबार ०७:१६

स्याङ्जा साउन ७/ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । बी पी स्मृति दिवसको अवसरमा स्याङ्जाको बिरुवा गाउँपालिका ५...

स्याङ्जा साउन ७/ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ४३ औँ स्मृति दिवस मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । बी पी स्मृति दिवसको अवसरमा स्याङ्जाको बिरुवा गाउँपालिका ५ स्थित पुष्प गाउँमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य एवम् नोपली काँग्रेस जिल्ला सभापति राजु थापाले असहाय एकल महिला नानी माया विश्वकर्माका लागी नव निर्मित घरको चाँबी हस्तान्तरण गरे । सो घर नेपाली काँग्रेस बिरुवा गाउँपालिका, नेपाल तरुण दल स्याङ्जा र नेपाल विद्यार्थी संघ स्याङ्जाको अग्रसरता र सहयोगमा निर्माण गरिएको हो । चाबी हस्तान्तरण गर्दै साँसद थापाले बी पी कोईरालाले नेपाली जनता र राजनीतिमा अतुलनिय देन रहेको बताए । साँसद थापाले बी पी कोईरालाको महिमा जति भने पनि कम हुने बताउदै उनले लिएको मेलमिलापको नीति लगायतका थुपै्र सिद्धान्त, चिन्तन र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । यस्तै, दिवस कै अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा फेदिखोला गाउँपालिका १ मा रहेको अमोर बाल गृहमा खाद्यान्न सहयोग गरिएको नेपाली काङ्ग्रेस पुतलीबजार ३ का सचिव मोति प्रसाद मरासिनीले जानकारी दिए । बी पी स्मृति दिवस कै अवसरमा मंगलबार स्याङ्जा सदरमुकाम बी पी चोकमा बी पी कोईरालाको सालिकमा माल्यार्पण गरी बी पी कोईरालाले नेपालको राजनीति र साहित्यमा पुर्याएको योगदानको स्मरण गरिएको छ । नेपाली काँग्रेस पुतलीबजार नगर समितिको आयोजनामा सो कार्यक्रम गरि बी पी कोईरालाको ४३ औं स्मृति दिवस मनाईएको हो । बी पी कोईरालाको सालिकमा माल्यार्पण गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तीले बी पी कोईरालाले नेपालको राजनीति र साहित्यमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए ।

नेपाली काँग्रेस पुर्व जिल्ला सभापति समेत रहेका घर्तीले बी पी कोईरालाले दिनुभएको मार्गदर्शन आज पनि देश र पार्टीका लागी उत्तिकै सान्दर्भिक र अत्यावश्यक भएको बताए । कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेश पुर्व साँसद भागवत् प्रकाश मल्ल, गण्डकी प्रदेश सदस्य कुम बहादुर गुरुङ्, जिल्ला सचिव दामोदर लम्साल लगायतको उपस्थिति रहेको थियो । नगर सभापति सुरज कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव महादेव श्रेष्ठले गरेका थिए । यसैबिच, बी पि स्मृति दिवसको अवसर पारेर स्याङ्जा सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा नेपाल विद्यार्थी संघको समन्वयमा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । हरियालीमा समृद्धि, वृक्षारोपणमा भविष्य भन्ने मुल नाराका साथ सो कार्यक्रम गरिएको स्ववियु सभापनि गोपी सुवेदीले जानकारी दिए । सो कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य महादेव श्रेष्ठ, किसान बहादुर प्रधान, नेपाल काँग्रेस पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, नि वर्तमान स्ववियु उपसभापति महादेव कार्की, नि वर्तमान सह सचिव सन्ध्या लामिछाने, नेपाल विद्यार्थी संघ क्याम्पस सभापति सुजिल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, विद्यार्थी नेताहरु प्रसन्न अर्याल, दीपक सापकोटा र धु्रव गिरीले कार्यक्रमको सहजीकरण गर्नुभएको सभापति सुवेदीले बताए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बी पी कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म वि सं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्केका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०७:१६
प्रतिक्रिया दिनुहोस्