भर्खरै भारत सरकारले नेपाली युवतीहरुलाई पनि भारतीय सेनामा भर्ति गर्ने निर्णय गरेको छ । यसो बुझ्दा नेपाल सरकार भारत सरकारको यो निर्णय कार्यान्वयन गर्न तमतयार छ । गोर्खा भर्ति केन्द्र खारेज गर भन्ने नारा लगाउँदै आएको नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास यो विषयमा फेरि उपहास बन्ने देखिन्छ ।
नेपाल एउटा त्यस्तो देश हो जुन देशले लगातार भारतको सीमा अतिक्रमण र सार्वभौमिकतामाथिको हस्तक्षेपको सामना गर्नु परिरहेको छ । त्यही देशका युवाहरु भारतको सीमा रक्षार्थ कारगिल र अरुणाचलका हिमाच्छिद पहाडहरुमा जीवन मरणको लडाई लडिरहेका छन् । गोर्खा भर्ति केन्द्रको इतिहासको घाउ कम चहराउने घाउ होइन । यसको इतिहास पढ्दा जुनकुनै नेपाली देशभक्तको दिमाग बिझाउँछ । मुटु दुख्छ र आफ्नो इतिहासप्रति गहिरो भावुकता जाग्दछ अनि मन उद्वेलित भएर आउँछ । गहभरी आँसु भरिन्छ र बेचैनी पैदा हुन्छ ।
ई.सं. १८१४–१६ को नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले प्रकट गरेको सैनिक अनुशासन देखेर जनरल अक्टर लोनी आश्चर्यचकित भएका थिए । त्यस पश्चात सन् १८१६ को सुगौली सन्धि पश्चात अंग्रेजहरुले नेपालसित संघर्ष होइन सम्बन्धको कूटनीति अगाडि सारेर व्यवहार गर्न थाले । यसको मुख्य कारण वीर गोर्खा सैनिकहरु थिए । अंग्रेजहरुले पूर्व मेची र पश्चिम महाकालीसम्म मात्र खुम्चिएको नेपालसित सम्बन्ध कूटनीति मार्फत गोर्खाहरुलाई आफ्नो साम्राज्य विस्तारको अभियानमा उपयोग गर्ने नीति अख्तियार गरे । मलाउको युद्धमा नेपाली फौजको पराजय भएपछि अंग्रेजहरुले युद्धबन्दीहरुबाट चारवटा बटालियन खडा गरे ।
ती मलाउ बटालियन, नुसरी बटालियन, सिरमोर बटालियन र कुमाउ बटालियन थिए । यी बटालियनहरुलाई अंग्रेजहरुले सन् १८२५–२६ को भरतपुर कब्जा गर्ने युद्धमा पनि नेपाली बटालियनले सैनिक धर्म र अनुशासनको पालना गरेर उच्च बहादुरी प्रदर्शन गरेपछि अंग्रेजहरुले भर्ति केन्द्रको संख्या र बटालियन बृद्धि गरे । सन् १८५७ को भारतको सैनिक विद्रोहपश्चात नेपाली फौजलाई इष्टइण्डिया कम्पनी सरकारले १८७८ र १९१९ मा अफगान युद्धमा, १८६० मा बजारस्तान, १८७५ मा मलाया र १९०० मा चीनमा नेपाली फौजलाई अग्र पंक्तिमा राखेर भिडायो ।
नेपालमा इष्टइण्डिया कम्पनी सरकारको जीहजुरी गरेर जहानिया राणा शासन जोगाउने रणनीतिमा हिडेका राणा शासकहरुले नेपाली युवाहरुलई प्रथम विश्वयुद्ध (१९१४–१९१८) र द्वितीय विश्वयुद्धमा (१९३९–१९४५) अंग्रेजको पक्षमा अत्यन्त निर्ममतापूर्वक भिडाए । विभिन्न अन्तरविरोध र शक्ति क्षेयीकरणका कारण अंग्रेजी साम्राज्यवाद अस्ताउँदो क्रममा थियो ।
तसर्थ अंग्रेजलाई युरोप, अफ्रिका र मध्यपूर्वमा लड्ने तथा भारतको आन्तरिक र सीमा सुरक्षामा लड्ने लडाकू सेनाको आवश्यकता थियो । भारतमा स्वतन्त्रताका निमित्त अंग्रेज साम्राज्यवाद विरुद्धमा आन्दोलन चलिरहेको थियो ।
अंग्रेजहरुलाई भारतीय पल्टनप्रति विश्वास थिएन । तदनुरुप अंग्रेज अधिकारीहरुले नेपाल दरवारसमक्ष धेरै संख्यामा नेपाली युवाहरुलाई छनोट गरी गोर्खा भर्तिमा संलग्न गराउन प्रस्ताव गरे । श्री ३ चन्द्र शमशेरले अंग्रेजको प्रतावलाई स्वीकार गरे । तत्काल दुई लाख नेपाली युवाहरुलाई सो पल्टनमा भर्ना गराइयो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख थियो । त्यसमा पुरुषहरुको संख्या २८ लाख थियो । २८ लाख पुरुषको जनसंख्या भएको मुलुकले दुई लाख युवा इष्टइण्डिया कम्पनी मातहतको गोर्खा पल्टनमा भर्ति हुने युवाहरुको जनसंख्याको २० प्रतिशत थियो ।
एउटा साम्राज्यवादी मुलुकको हितार्थ देशको युवा जनसंख्याको २० प्रतिशत युवा खेदिनु सामान्य कुरा थिएन । प्रा.डा. सुरेन्द्र केसीका अनुसार प्रथम विश्व युद्धमा दुई लाखमध्ये २४ हजार नेपाली युवाहरु मारिएका, घाइते भएका र हराएका थिए । डा. प्रेम रमण उप्रेतीका अनुसार युद्धमा सेनाका कैयौं दल र सिंगो रेजिमेन्टहरु नै नामेट हुन पुगेका थिए ।
नेपाली युवाहरु दुईवटा मेशिनगनको भरमा ३२ वटा जर्मनी मेशिनगन र कैयौं घातक बमहरुसित लड्न परेको थियो । विश्व युद्धको दौरानमा घाइते नेपालीहरुले बेलायत, फ्रान्स र भारतका अस्पतालहरु भरिएका थिए । युद्धमा लड्न नसक्ने गम्भीर घाइतेहरुलाई पानी जहाजमा राखेर भारत हुँदै रित्तै नेपालमा पठाइएको थियो । घाइते नेपाली युवाहरुका कसैका आँखा थिएनन् कसैको अनुहार नै चिनिदैनथ्यो । हिड्न र बोल्न नसक्ने अपांगहरुको संख्या अनगिन्ती थियो । नेपाली सेनाको नेतृत्व लिएका बबर शमशेरले चन्द्र शमशेरलाई पठाएको पत्रमा जीवन आत्मासित अभिन्न भएर पनि बाँच्न सक्दोरहेछ भन्ने मार्मिक बर्णन गरेका थिए । प्रथम विश्व युद्धमा बेलायतको विजयका पछाडि गोर्खाहरुको महत्वपूर्ण योगदान छ भन्ने कुरा अंग्रेज (बेलायत) अधिकारीहरुले महसुस पनि गरे ।
जसको परिणाम सन् १९२३ मा नेपाल र बेलायतका बीचमा मैत्री सन्धि भएको थियो । जुन सन्धिले नेपाललाई भारतका रजौटाहरुको राज्य भन्दा अलग र स्वतन्त्र राष्ट्रका रुपमा उभ्याएको थियो ।
द्वितीय विश्व युद्धको समयमा जुद्ध शमशेर प्रधानमन्त्री थिए । यो युद्धमा पनि १९३९ देखि १९४३ सम्मको अवधिमा पटक–पटक गरेर दुई लाख भन्दा बढी नेपाली युवाहरुलाई युद्धमा लड्न पठाइएको थियो । त्यसको नेतृत्व बहादुर शमशेरले गरेका थिए । नेपाली युवाहरु बेलायती पल्टनमा भर्ति भएर एशिया, अफ्रिका, युरोपका छिमाच्छिद मैदान र बर्माका घनघोर जंगलहरुमा आत्म बलिदानकासाथ लडेका थिए । द्वितीय विश्वयुद्धमा झन भयावहको अवस्था थियो । कति नेपाली हराए, मारिए वा वेपत्ता भए लेखा जोखा नै भएन । डा. उप्रेतीले यस युद्धमा २४ हजार गोर्खाली फौज हराएको उल्लेख गरेका छन् । यसमा लेखकहरुका बीचमा मतक्यैता पाइ‘दैन । प्रथम विश्वयुद्ध पश्चात बेलायतले दुईवटा भिक्टोरिया क्रस नेपालीलाई दिएको थियो भने द्वितीय विश्वयुद्ध पश्चात नौजनाले सो पदवी प्राप्त गरेका थिए । त्यत्रो भयानक लडाईमा जीवन मरणको लडाई लडेर विजयको पताका फहराउने अवसर दिएका गोर्खाली या नेपाली सैनिकहरुको रेकर्डसम्म नराख्नु बेलायती साम्राज्यवादको सानो कृतघ्नता होइन ।
बेलायतले व्रिटिश गोर्खा सेनामाथि गर्दै आएको विभेदको लामो इतिहास छ । राणाहरुले अंग्रेजहरुको हितमा त्यसका अलावा १८५७ को सिपाही विद्रोहदेखि हैदरावाद कब्जासम्म नेपाली जवानहरु पठाएर सेवा गरेका थिए । अंग्रेजलाई भारतको सिपाही विद्रोह दबाउन सहयोग गरे वापत जंगबहादुरको पालामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले पाएको थियो । ती भूभाग पनि सुगौली सन्धिमा गुमेका थिए ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सोही वर्षको नोभेम्बर ९ का दिन काठमाडौंमा भारत, नेपाल र बेलायतका बीचमा त्रिपक्षीय सम्झौता भयो । आश्चर्य त यो छ कि विदेशले नेपाली जवानहरुलाई आफ्नो फौजका रुपमा राख्न पाउने यो नै पहिलो औपचारिक सन्धि थियो । यस पूर्व विना औपचारिक सन्धि बेलायतको पक्षमा हजारौं नेपाली जवानहरुले बलिदान दिइसकेका थिए ।
नोभेम्बर ९ को औपचारिक सन्धिपश्चात १० वटा गोर्खा फौजी रेजिमेन्टमा चारवटा रेजिमेन्ट बेलायतले र छवटा रेजिमेन्ट भारतले राख्ने निर्णय भयो । भारत बेलायत दुबैले नेपालमा गोर्खा भर्ति केन्द्र खोल्न पाउने भए । त्यसो त दुई सय वर्ष अगाडिदेखि नेपाल विश्व मानचित्रमा भाडाका सिपाही निर्यात गर्ने मुलुकका रुपमा परिचित छ । त्यसैले कतिपय कूटनीतिक मञ्चहरुमा नेपाल एउटा स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुक हो कि होइन भन्ने विषयमा प्रश्न उठ्ने गर्दछ । प्रा.डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक गोर्खा भर्ति कथा व्यथा र आन्दोलनमा अंग्रेज लेखक वायरन फारवेलको पुस्तक उधृत गर्दै फारवेलले ‘नेपालीहरु अशिक्षित र गवाँर छन्…. भाडाका सिपाहीहरु तुच्छ तलबमा पनि खुशीसाथ काम गर्छन्’ आदि लेखेको उल्लेख गर्नुभएको छ ।
गोर्खा भर्ति केन्द्र नेपालको इतिहासको एउटा उदेकलाग्दो संयोग हो । हाम्रा पुर्खा अंग्रेजी साम्राज्यवादका विरुद्धमा जीवन मरणको लडाइँ लडेर देशको किल्लाको सकेसम्म रक्षा गरे । पछि तिनै पुर्खाका सन्तान नै अंग्रेजी गोराहरुका भरपर्दा हितैषी बनेर निस्के तर पनि त्यही देशबाट भाडाका सैनिक गवार र मुर्खको उपमा पाउन छोडेनन । बेलायतलाई दुई–दुई वटा विश्व युद्धमा मात्र होइन फकल्याण्ड र मलायाको युद्धमा समेत विजय बनाए तर बेलायती साम्राज्यवादले आज पनि बेलायतस्थित गोर्खा पल्टनलाई विभेद र हेयको दृष्टिले हेर्दछ । १९४७ पछि भारतको भागमा परेको गोर्खा पल्टन सन् १९६२ मा भारतको पक्ष लिएर चीनसित र १९६५ मा पाकिस्तानसित भिड्यो । आज गोर्खालीहरुको पल्टन भारतको सीमा सुरक्षार्थ जम्मु काश्मिरको कारगिल, गालवान घाटी र अरुणाचल प्रदेशका भारत–चीन सीमा विवादका जोखिमपूर्ण स्थानहरुमा अग्रपंक्तिमा तैनाथ छ । भारतले पनि गोर्खा पल्टनलाई भाडाकै पल्टन ठान्दछ । भारतको आन्तरिक सुरक्षा र सीमा रक्षामा नेपाली पल्टनले बलिदान दिइरहेको छ तर त्यसको जवाफमा भारतले ६ दर्जन भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरेको छ । अनाधिकृतरुपमा बाँधहरु निर्माण गरेर नेपालको तराई क्षेत्रलाई डुबानमा पारेको छ ।
नेपाली भूभाग सुस्ता, पशुपतिनगर, कालापानी, लिपुलेक र लिम्पियाधुरा आदि स्थानमा बर्चस्व कायम गरेको छ । नेपालको राजनीति र प्रशासनिक व्यवस्थापनको माइक्रोम्यानेजमेन्ट तहमा हात हाल्ने गरेको छ । जुन देशका युवाहरुले विदेशमा गएर पसिना बगाउँछन् त्यो देश कहिल्यै समृद्ध र सम्पन्न हुन सक्दैन ।
त्यसैगरी विदेशी पल्टनमा युवाहरुलाई भर्ति गराउने देश पूर्ण स्वतन्त्र र सार्वभौम हुन सक्दैन । मुगलकालदेखि नै नेपाल विदेश जाने लाहुरे बन्ने संस्कार बोकेको देश रहेछ । सरदार भीमबहादुर पाँडेले त्यस वखतको नेपाल नामक पुस्तकमा बेलायती सेनामा भर्ति गरिएका कारण नेपाली गाउँवस्तीहरु युवा विहीन भएको उल्लेख छ । त्यसरी युवाहरु विदेश पलायन नभएको भए नेपालमा चेतनाको स्तरमा पनि प्रगति हुन्थ्यो र छिटोछिटो राजनीतिक परिवर्तन हुन्थ्यो । द्वितीय विश्वयुद्धपछि बेलायती सेनाबाट फर्केर आएका नेपाली युवाहरुलाई संगठित गराएर नेपाली कांग्रेसले मुक्ति सेनाको निर्माण गरेको थियो । विश्वयुद्धमा खटिएका युवाहरुको संगठनका रुपमा रहेको मुक्तिसेनाले राणा शासन पल्टाएको थियो ।
प्रथमतः मुलुकको सुरक्षा र समृद्धिमा योगदान पु¥याउन सक्ने देशका हजारौं युवाहरु भारत र बेलायतको पल्टनमा छन् । द्वितीय देशमा जनविरोधी सरकार भएको कारणले रोजगारीका निमित्त लाखौं युवाहरु र युवतीहरु समेत भारत र खाडी मुलुकहरुमा निम्न स्तरको काममा छन् । तृतीयः अब युवा मात्र होइन युवतीहरुलाई समेत भारतको पल्टनमा भर्ति गराउने तमतयारी भइरहेको देखिन्छ । यी सबै देशलाई अधोगतिमा धकेल्ने प्रपञ्च हुन् । इतिहासका तथ्यहरुले नेपाल सस्तो मजदुर र भाडाका सिपाही उत्पादन गर्ने देशका रुपमा चिनाएका छन् । नेपाली युवतीलाई भारतीय सेनामा भर्ति गराउनुको उद्देश्य यौन शोषण र मनोरञ्जन हो भनेर उपप्रधान तथा गृहमन्त्री भीमबहादुर रावल नै बोलीरहनु भएको छ । हामी नेपालीले नेपालको इतिहासको यो पाटोप्रति कसरी गर्व गर्ने ?
प्रतिक्रिया दिनुहोस्










