स्याङ्जा भदौ १७/ गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले अंपागता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका व्यक्तिहरु र अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले गत आ व २०८१/०८२ मा अंपागता भएका व्यक्तिहरुको क्षेत्रमा सम्पादन गरेका क्रियाकलापहरुको समिक्षा तथा आगामी आ व २०८२/०८३ मा सम्पादन गरिने कार्यक्रम तथा क्रियाकलापको प्रभावकारीताको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयले अंपागता भएका व्यक्तिहरु र तिनीहरुसँग सम्बन्धीत संस्थाहरुको समन्वयमा यस आर्थिक वर्षमा अंपागता भएका व्यक्तिहरुको सशक्तिकरण, सहायता, सहयोग तथा सक्षमता अभिवृद्धिको लागि सहायता सामाग्री तथा प्रविधि वितरण, कालाभैरव माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुको लागि सहायक प्रविधि सहयोग कार्यक्रम, अन्तराष्ट्रिय अपांगता दिवस, अपांगता भएका व्यक्तिहरुको लागि लघु उद्यम सञ्चालन, समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम, सुस्केरा फाउण्डेशन मार्फत् अंपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण कार्यक्रम, बहिराहरुको लागि क्षमता विकास कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न समन्वत्मक वैठक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको बताएको छ ।
कार्यालय प्रमुख जीवन पौडेलले अंपागता भएका व्यक्तिहरुलाई लक्षित कार्यक्रमको साथै अन्य कार्यक्रममा पनि प्राथामिकता दिएर सञ्चालन गरिने बताए ।कार्यक्रममा अपांग सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुली, अपांग समाज स्याङ्जाका राम शर्मा पोखरेल, स्याङ्जा बहिरा संघका अध्यक्ष संजिब श्रेष्ठ, सि बि आर एस स्याङ्जाका फिल्ड कोडिनेटर हुम रानाभाट, फेदीखोला हातेमालो अंपागता समाजका अध्यक्ष रेशमलाल रानाभाट, दोभाषे शिक्षिका सावित्री शर्मा लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रेहको थियो ।










