जेन जी आन्दोलनका क्रममा तनहुँ, कास्की र लमजुङ कारागारबाट भागेका कैदीहरु पक्राउ पर्ने कर्म जारी छ।
नेपाल प्रहरी र सेनाकाे संयुक्त टाेलीले शुक्रबारसम्म तनहुँको शुक्लागण्डकी क्षेत्रबाट १५ जना फरार कैदी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलचाैताराका प्रहरी निरिक्षक पाेषण थापाले जानकारी दिए । उनीहरू तनहुँ र कास्कीबाट फरार भएका थिए ।
यसै गरी लमजुङ कारागारबाट भागेका नौ कैदीलाई लमजुङ प्रहरीले नियन्त्रणमा लिएको छ । भाद्र २४ गते मंगलबार फरार भएका मध्ये नौ जनालाई लमजुङका विभिन्न स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला कारागार लमजुङका कैदी र थुनुवा हाल तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार रहँदै आएका थिए ।
बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढेको भन्दै कारागारका सबै कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो ।
कारागारबाट भागेर लमजुङ प्रवेश गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साहले बताए । उनका अनुसार फरार अन्यको खोजी भइरहेको छ ।
६ महिलासहित १ सय ९ जना कैदी र थुनुवालाई स्थानान्तरण गरिएको थियो । कारागार कार्यालय तनहुँ, दमौलीमा ३१ जना र कारागार कार्यालय कास्की, पोखरामा ७८ जना कैदी र थुनुवा पठाइएको प्रहरीले जनाएको छ ।










