नेतृत्वको परीक्षा शक्ति र सत्तामा होइन, संकटमा हुन्छ : राजेन्द्रबहादुर थापा

नेतृत्वको परीक्षा शक्ति र सत्तामा होइन, संकटमा हुन्छ : राजेन्द्रबहादुर थापा
२०८३ साउन २८ गते बिहिबार ०९:३६

पोखरा । नेतृत्वको वास्तविक परीक्षा शक्ति र सत्तामा हुँदा मात्र नभई कमजोर र चुनौतीपूर्ण अवस्थामा हुने नेकपा (एमाले) पोखरा–२१ का अध्यक्ष राजेन्द्रबहादुर थापाले बताएका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले नेपाली...

पोखरा । नेतृत्वको वास्तविक परीक्षा शक्ति र सत्तामा हुँदा मात्र नभई कमजोर र चुनौतीपूर्ण अवस्थामा हुने नेकपा (एमाले) पोखरा–२१ का अध्यक्ष राजेन्द्रबहादुर थापाले बताएका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले नेपाली कांग्रेसका नेता–कार्यकर्ताबाट एमालेका नेता–कार्यकर्ताले पनि एउटा महत्वपूर्ण राजनीतिक संस्कार सिक्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार नेतृत्व शक्तिमा हुँदा मात्र साथ र समर्थन गर्ने नभई कमजोर अवस्थामा समेत नेतृत्व र संगठनको पक्षमा दृढतापूर्वक उभिन सक्ने संस्कार आवश्यक हुन्छ।

यद्यपि, नेतृत्वले गरेका हरेक निर्णयलाई आँखाचिम्लेर समर्थन गर्नु सही नभएको उनको भनाइ छ। पार्टी वा नेतृत्व कमजोर हुनुको कारण बाह्य षड्यन्त्र हो वा आफ्नै नीति, नेतृत्व र कार्यशैलीको कमजोरी हो भन्ने विषयमा निर्मम आत्मसमीक्षा आवश्यक रहेको उनले बताएका छन्।

“गल्ती हुन सक्छ, कमजोरी हुन सक्छ; तर एउटै गल्ती दोहोर्‍याउँदै अहंकार र रबैया प्रदर्शन गर्ने छुट कसैलाई हुँदैन,” थापाले उल्लेख गरेका छन्।नेतृत्वले जनमानसको अपेक्षा, समयको माग र कार्यकर्ताको मनोभावलाई आसेपासेको दृष्टिकोणबाट मात्र नभई आफ्नै विवेकबाट बुझ्न सक्नुपर्ने उनको धारणा छ। पार्टी र संगठनको हितका लागि आवश्यक पर्दा एक कदम पछि हट्नु हार नभई भविष्यमा अझ ठूलो शक्ति निर्माण गर्ने रणनीति बन्न सक्ने उनले बताएका छन्।

थापाले लामो समयदेखि निस्वार्थ भावले पार्टीमा योगदान दिएका कार्यकर्ताको मानमर्दन कुनै पनि अवस्थामा स्वीकार्य नहुने समेत बताएका छन्। उनका अनुसार कार्यकर्ता पार्टीका भर्‍याङ नभई संगठनका आधार, शक्ति र भविष्य हुन्।“नेतृत्वको रक्षा गर्नु भनेको हरेक निर्णयमा मौन समर्थन गर्नु होइन; आवश्यक पर्दा सच्याउने साहस राख्नु नै सच्चा नेतृत्वप्रतिको निष्ठा हो,” उनले भनेका छन्।

उनले व्यक्ति केन्द्रित राजनीतिभन्दा विधि, विचार, संगठन र योगदानको सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।“सही नेतृत्वको रक्षा गरौँ, गलत प्रवृत्तिको खबरदारी गरौँ। व्यक्ति होइन—विधि, विचार, संगठन र योगदानको सम्मान गरौँ,” थापाले भनेका छन्। उनका अनुसार पार्टी बलियो बनाउने आधार अन्धसमर्थन होइन, सही नेतृत्वप्रतिको निष्ठा, गलत प्रवृत्तिविरुद्धको खबरदारी र कार्यकर्ताको सम्मान हो। नेतृत्वले आत्मसमीक्षाको साहस र कार्यकर्ताले सत्य बोल्ने हिम्मत राखे मात्र संगठन संकटबाट अझ शक्तिशाली भएर निस्कन सक्छ। अन्ततः व्यक्ति आउँछन्–जान्छन्, पद र सत्ता परिवर्तन भइरहन्छन्; तर विचार, संगठन र राजनीतिक संस्कार नै पार्टीको स्थायी शक्ति हुन्।

प्रकाशित मिति २०८३ साउन २८ गते बिहिबार ०९:३६
प्रतिक्रिया दिनुहोस्