पोखरा औद्यागिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रा.लि.का लागि किनेर ल्याइएको पाम आयल बाटोमा नै चोरी गरेर बिक्री गरेको आरोपमा तीन जना यातायात मजदुर पक्राउ परेका छन्।
सिजी आयल एण्ड डेलिभरी प्रालिबाट किनेर पोखरातर्फ ल्याइएको पाम आयल चोरी गरेर बाटोमा नै बिक्री गरेको आरोपमा तीन जना यातायात मजदुर पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२२ अमलेखगञ्ज बस्ने वर्ष ३५ को कविराज गौतम, सोही ठाउँका ४९ वर्षीय शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षीय बुद्धि बहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
ना ५ ख ७७०८ नम्बरको ट्रकमा लोड गरेर पोखरा ल्याइदै गरेको पाम आयल मध्ये १८ जर्किन बाटोमा नै बिक्री गरेर तौल मिलान गर्न खाली भएका १८ वटै जर्किनमा पानी भरेर उद्योगमा ल्याएको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका तीन जनासंगबाट १३ हजार रुपियाँ समेत बरामद भएको प्रहरीले बताएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत कास्कीमा चोरीसबन्धि कसुरमा १० दिनको म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।










