अझै ६० प्रतिशत धान रोप्न बाँकी....
बागलुङ, असार १५ – छिटो मनसुन आएपनि किसानलाई पूर्व जानकारी नभएकोले बागलुङमा अझै ६० प्रतिशत धान रोप्न बाँकी छ । केही दिन अघि मात्रै २५ प्रतिशत मात्रै रोपाइ भएको बागलुङमा एक सातामा थपिएको रोपाइले ४० प्रतिशत मात्रै पुगेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभत्त भट्टराईले बताए ।
गलकोट जलाधार क्षेत्रको हटिया, हरिचौर, मल्म, रिघा र काडेवासका अधिकांस स्थानमा रोपाई सकिएको छ । पश्चिम बागलुङको बडिगाड तर्फको ग्वालीचौर, खरवाङ जस्ता स्थानमा पनि धेरैजसो रोपाइ भएको हो । तर पहाडी बस्तीमा भने रोपाइ भएको छैन ।
मकै खेती लगाएको, चैते धान रोपिएका केही स्थानमा भने किसानले नरोपेका हुन् । ‘असार १ गतेबाटै ठूलो बर्षात र झरी लाग्यो, तर किसानले लगाएको बीउ तयारै भएको छैन’ भट्टराइले भने, ‘पानीको अभाव भने यो बर्ष नहुने भएकोले समयमै रोपाई हुनेछ ।’
भट्टराईका अनुसार बागलुङमा ७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइ हुने गरेको छ । गत बर्ष असार १५ मा ६० प्रतिशत बढी रोपाइ भएको थियो । अघिल्लो बर्ष जेठ देखिनै पानी परेकोले किसानले समयमै बीउ राखेका थिए । यो बर्ष भने किसानले बीउ राख्न ढीलाइ गरेकोले रोपाइ हुन नसकेको उनको तर्क छ । ‘मौषम अनुकुल भयो भने किसानले समयमै धान रोप्छन्’ भट्टराइले भने, ‘उच्च पहाडी क्षेत्रमा दुइ र नदी बेसी क्षेत्रमा तीन खेती लाग्ने भएकोले रोपाइ छिटो भएको हो ।’ मनसुनको भर परेर रोप्नेले भने असार अन्तिम सातादेखि साउनसम्मै रोपाइ गर्छन् ।
गत बर्ष भने मनसुन कमजोर भएकोले असार अन्तिम साता सम्म पनि अधिकांस स्थानमा रोपाइ भएको थिएन । त्यसले उत्पादनमा समेत असर परेको थियो । यो बर्ष भने बेलाबेला पानी परिरहेकोले रोपाइ सुरु भैसकेको उनले बताए । बागलुङ नगरपालिकाको बलेवातर्फका अमलाचौर, पैयुँपाटा, नारायणस्थान, रायडाँडा लगायतका गाउँमा भने असार महिनाको पनि ढीलामात्रै रोपाइ गर्ने चलन छ ।
कोरोनाले खेताला धेरै नराखेका किसानले सामाजिक दुरी कायम गरेर रोपाइ गरेको बताए । ‘अघिल्ला बर्ष एउटै मेलामा ५० जनासम्म खेतला हुन्थे, अहिले बढीमा २० जना छन्’ गलकोट नगरपालिका ३ की कल्पना मल्लले भनिन्, ‘सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने जस्ता मापदण्ड अपनाएर खेती गरिएको छ ।’
अघिल्लो बर्षको तुलनामा यो बर्ष खेतला पाउन भने समस्या भएको ताराखोला गाउँपालिका २ का अध्यक्ष भद्रबहादुर घर्तीले बताए । ‘कोरोनाका संक्रमितहरु होम आइसोलेसनमा छन्, नभएकापनि डराएका छन्’ घर्तीले भने, ‘आफ्नो काममा निस्केपनि खेताला पाउन भने कठिन भएको छ ।’ सामाजिक दुरी कायम गरेर खेतीपाती भने गरिएको उनले बताए ।
यसैबीच कृषि ज्ञान केन्द्रले असार १५ को धान दिवश थोरै किसानको उपस्थितिमा मात्रै संचालन गर्ने बताएको छ । अघिल्ला बर्ष उत्सवको रुपमा धान दिवश मनाउने गरिएकोमा यो बर्ष भने कोरोना संक्रमणका कारण उत्सवको रुपमा मनाउन नसकिने उनले जानकारी दिए । कोरोना संक्रमणले कतिपय योजना सम्झौतामा पनि असर परेको कार्यालयका सूचना अधिकारी कुमार पुनको भनाइ छ । कतिपय किसान समयमा आउन नसकेको, कर्मचारी किसानको खेतबारीमा जान नसकेको जस्ता कारणले सम्झौता नभएका हुन् । केन्द्रमार्फत मकै प्रवद्र्धन कार्यक्रमका कतिपय योजना सम्झौत गर्न नसकिएको उनले जानकारी दिए ।
ढोरपाटन न्युजबाट साभार










