पोखरा–२१ मा यही पौष १० गते आयोजना हुन लागेको सुन्तला महोत्सवको सर्वपक्षीय तयारी बैठक सम्पन्न भएको छ। बैठक वडा अध्यक्ष दीपक प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीका अध्यक्ष राजेन्द्र थापाले पोखरा–२१ को दोपरे गाउँको पहिचान बनेको सुन्तला र किसानको पसिना, मेहनत र आत्मसम्मानलाई उचित मूल्यसहित सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गर्दै पोखरा तथा आसपास क्षेत्रका दाजुभाइ–दिदीबहिनीको सक्रिय सहभागिताको आवश्यकता औंल्याउनुभयो। उहाँले सुन्तला महोत्सव केवल औपचारिक कार्यक्रम मात्र नभई किसानको उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय कृषि प्रवर्द्धन गर्ने र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने साझा अभियान भएको बताउनुभयो। यसले पोखरा–२१ को गरिमा अभिवृद्धि गर्नुका साथै कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा नेपाली कांग्रेसका सभापति केवल गिरी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष युवराज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष खिमबहादुर शाहीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित सबै वक्ताहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर किसान, कृषि र स्थानीय पहिचानको संरक्षणलाई साझा एजेन्डा बनाउँदै सुन्तला महोत्सवलाई भव्य, मर्यादित र सफल बनाउन पूर्ण प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकको सहजीकरण वडा सदस्य एवं महानगर लेखा समिति सभापति झपट रानाभाटले गर्नुभएको थियो।
बैठकको अन्त्यमा आयोजक समितिको तर्फबाट यही पौष १० गते पोखरा–२१ को दोपरेमा आयोजना हुने सुन्तला महोत्सवमा उपस्थित भई किसानको मेहनतलाई सम्मान गर्न, स्थानीय उत्पादनको प्रवर्द्धन गर्न तथा कार्यक्रमको गरिमा बढाइदिन सबैमा हार्दिक अपिल गरिएको छ।










