पोखरा १० जेठ/ पोखरा महानगरपालिकाले अतिक्रमित फिर्केखोलालाई प्राकृतिक बहावमा फर्काउन आजदेखि संरचना हटाउने अभियान सुरु गरेको छ । महानगरले तीन स्थानबाट डोजर परिचालन गरी खोलाघर खाली गर्न थालेको हो ।
महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभियान थालिएको बताउनुभयो । नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलामाथि १६० वटा स्थायी तथा अस्थायी संरचना निर्माण भएका छन् ।
महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना दिएको थियो । समयसीमा सकिएसँगै आजदेखि अभियान थालिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
अँधेरिकुना, फिर्केपुल र जिरोकिलोमिटर क्षेत्रबाट एकैसाथ संरचना हटाउन सुरु गरिएको महानगरले जनाएको छ । अभियान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन भएको हो ।
प्रतिक्रिया दिनुहोस्










