पोखरा, असार ९ / नगरपालिकाका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल नगरपालिका संघको आयोजनामा तथा खानेपानी तथा ढल व्यवस्थापन विभाग, युएन ह्याबिटाट, वाटरएड नेपाल, मिडिया हेल्पलाइन र वास खबरको साझेदारीमा सञ्चालन गरिएको हो। नगरपालिकाअन्तर्गत सञ्चालित वास योजना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा क्षमता विकासलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा सात पाइलट नमुना नगरपालिकाहरू मेचीनगर, लहान, ललितपुर महानगरपालिका, गोरखा नगरपालिका, घोराही उपमहानगरपालिका, गोदावरी नगरपालिका र शारदा नगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए। त्यसैगरी तीन रणनीतिक नगरपालिकाहरू विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाका साथै पोखरा महानगरपालिका, वालिङ, सुन्दरबजार, पुतलीबजार, भिरकोट, व्यास र राइनास नगरपालिकाका प्रतिनिधिहरूसहित १५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सदस्य नगरपालिकाहरूका लागि सरसफाइ क्षेत्रमा संघले गरेका नीतिगत पैरवी, वास योजनाको सुरुआत तथा त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए।
यस्तै, इन्जिनियर निरव वैधले वास एमआईएसको परिचय तथा वास योजनाको आवश्यकता र उपयोगिताबारे सहजीकरण गरेका थिए।नेपाल नगरपालिका संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले सरसफाइ क्षेत्रमा तथ्याङ्कमा आधारित नीतिगत पैरवी आवश्यक रहेको बताउँदै नेपाल नगरपालिका संघले सोही मान्यताअनुसार काम गरिरहेको उल्लेख गरे। उनले वास योजनामार्फत प्राप्त हुने तथ्याङ्क तथा डाटाले नगरपालिकाहरूमा आवश्यक नीतिगत सुधार र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताए।
कार्यक्रममा नगरपालिकाहरूमा सरसफाइसम्बन्धी तथ्याङ्क संकलनको वर्तमान अवस्था, सर्वेक्षणबाट प्राप्त विवरणको व्यवस्थापन तथा एनवाश एमआईएस प्रणालीमार्फत तथ्याङ्कको प्रयोग र विश्लेषणका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

















