अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरा लगायतका स्थानहरूमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारु गराउने कार्य जारी छ ।
बाढीको कारण ३ सय ९७ वटा घर डुबानमा परेका छन् । ४ सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा ३ सय ३० वटा विपद्का घटना भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रिय रूपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।










