पोखरा,असोज २५/ पोखरामा पहिलो पटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका पाँचवटा कोटलाई एउटै दौडमार्फत जोड्दै आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ को पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले जितेका छन्। उनले निर्धारित ५० किलोमिटर दूरी ५ घण्टा २१ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको संयुक्त आयोजनामा अल्ट्रा ट्रेल रेस आयोजना भएको हो ।
प्रतियोगिताको ५० किलोमिटर पुरुषतर्फ तिलकबहादुर सुनुवार दोस्रो भए। उनले ५ घण्टा २२ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरे। त्यस्तै, ५ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेका दलबहादुर कुँवर तेस्रो भए। रमेश लिम्बू ५ घण्टा ४३ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थानमा रहे,भने अर्जुन कुलुङ राईले पाचौँ स्थान प्राप्त गरे ।५० किलोमिटर महिलातर्फ कल्पना बुढाले उपाधि जितिन्। उनले निर्धारित दूरी ७ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गरिन्। निर्मला राईले ७ घण्टा २१ मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्दा सन्देवा बुढा ७ घण्टा २४ मिनेट २४ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन्। त्यस्तै चौथो स्थान कोपिला श्रेष्ठले प्राप्त गर्दा निरुता कोइराला पाचौँ भइन् ।
त्यस्तै, १६ किलोमिटर पुरुषतर्फ धिराजबहादुर बुढाले उपाधि जितेका छन्। उनले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५३ सेकेन्डमा पूरा गरे। श्रीकास राई १ घण्टा ८ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने निरोज भट्टले १ घण्टा ८ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे भने गोपाल तामाङले चौथो र आषिश कुवँरले पाचौँ स्थान प्राप्त गरे ।
१६ किलोमिटर महिलातर्फ द्रिपा बस्नेत पहिलो भइन्। उनले १ घण्टा ३० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरिन्। विपना लामा १ घण्टा ३० मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा सन्जिला राई १ घण्टा ३९ मिनेट ६ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन्। त्यस्तै सरस्वती डुम्राकोटीले चौथौँ र रिया वरुवालले पाचौँ स्थान प्राप्त गरिन् ।प्रतियोगितामा ५० किलोमिटर र १६ किलोमिटर दुवै विधामा महिला तथा पुरुष धावकका लागि समान पुरस्कारको व्यवस्था गरिएको थियो।५० किलोमिटरतर्फ पहिलो हुने महिला तथा पुरुष धावकले जनही एक लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ, तेस्रो हुनेले ७५ हजार रुपैयाँ, चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुनेले १५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, १६ किलोमिटरतर्फ पहिलो हुनेले २५ हजार रुपैयाँ, दोस्रो हुनेले १५ हजार रुपैयाँ, तेस्रो हुनेले १० हजार रुपैयाँ र चौथो हुनेले पाँच हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरे।५० किलोमिटरको मुख्य दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भएको थियो। दौड सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानीट्याङ्की, घार्मी डाँडा, ढिकी डाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपलडाली, ¥यालेचौर र काहुँकोट हुँदै पोखरा–११ स्थित नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर समापन भएको थियो।
त्यस्तै, १६ किलोमिटर दौड कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानी चोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायणथान र पहेँलो पुल हुँदै फूलबारी ब्यारेकमा पुगेर सम्पन्न भएको थियो।
नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष एवं प्रतियोगिताका रेस डाइरेक्टर तेज गुरुङले शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई दौडमार्गमा समेटिएकाले पोखरामा नयाँ पर्यटकीय गन्तव्यको सम्भावना थपिएको बताए।
उनका अनुसार प्रतियोगिताले खेलकुदका माध्यमबाट पोखराका ऐतिहासिक स्थल, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई एकसाथ प्रवद्र्धन गर्ने अवसर सिर्जना गरेको उल्लेख गरे ।प्रतियोगिताका विजेता धावकहरूलाई प्रमुख अतिथि नेपाली सेनाका पश्चिम पृतनापति उपरथी भोलानाथ थापा, बाहिनीपतिहरू सहायक रथी सन्तोष कार्की र विजय केसी, नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, अल्ट्रा धाविका रसिला तामाङ, मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली तथा सचिव महेश पौडेल लगायतले नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल मणिपाल शिक्षण अस्पताल,तमुधि यू.के अन्तर्गत आमा समुह,एभरग्रिन एकेडेमि, प्रतिभा मावि,नेपाल पर्यतन वोर्ड,खेपना प्रतिष्ठान अर्मलाकोट,रेवान पोखरा होटल सारा लेकसाइड,काँहु देउराली मन्दिर तथा धरहरा संरक्षण समिति लागएतले सहयोग गरेका थिए । ऐतिहासिक सम्पदा र साहसिक खेललाई जोड्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले पोखरालाई खेलकुद तथा साहसिक पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।











