भिरमा भेटियो सुजिताको शव, प्रहरी भन्छ – ‘शव नजिकै झोला र विष फेला परेको छ’

भिरमा भेटियो सुजिताको शव, प्रहरी भन्छ – ‘शव नजिकै झोला र विष फेला परेको छ’
२०७८ असार २१ गते सोमबार ०४:०५

२२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ की २२ वर्षीया भण्डारीको शव सामुदायिक वनको भिरालो जमिनमा आइतबार फेला परेको हो । उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ...

२२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ की २२ वर्षीया भण्डारीको शव सामुदायिक वनको भिरालो जमिनमा आइतबार फेला परेको हो ।

उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ । सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन् । भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ । उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्। उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन् । प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए । शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ । उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ । भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनी असार ११ देखि हराइरहेकी थिइन् । उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो । उनीहरूले प्रहरीमा निवेदन पनि दिएका थिए। प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरी उपरीक्षक अधिकारीका अनुसार शव फेला परेको स्थाननजिकै झोला च्यातिएको अवस्थामा फेला परेको छ।

प्रकाशित मिति २०७८ असार २१ गते सोमबार ०४:०५
प्रतिक्रिया दिनुहोस्