ढोरपाटन नगरपालिकाको नीति कार्यक्रम र बजेट प्रति वडा अध्यक्षहरुको धारणा

ढोरपाटन नगरपालिकाको नीति कार्यक्रम र बजेट प्रति वडा अध्यक्षहरुको धारणा
२०७८ असार २२ गते मङ्गलबार ०७:३५

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको नीति कार्यक्रम र बजेट नगरको नवौं नगरसभाबाट आइतबार पारित भएको छ । सभामा नगरको आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र वजेट प्रति सभामा उपस्थित कार्यपालिका सदस्यहरु अर्थात वडा अध्यक्षहरुले...

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको नीति कार्यक्रम र बजेट नगरको नवौं नगरसभाबाट आइतबार पारित भएको छ । सभामा नगरको आर्थिक वर्ष २०७८-०७९ को नीति कार्यक्रम र वजेट प्रति सभामा उपस्थित कार्यपालिका सदस्यहरु अर्थात वडा अध्यक्षहरुले आफ्ना धारणा राख्नुभयो ।
वडा अध्यक्षहरुले धारणा राख्ने क्रममा कतिपय वडा अध्यक्षहरुले आफैले बनाएको नीति कार्यक्रम र बजेट प्रति आफैले धारणा राख्नु उपयुक्त नभएको बताउनुभएको थियो भने कतिपयले, छलफल हु्नु स्वभाविक र आवश्यक रहेको तर्क राख्नुभएको थियो ।

आफ्नो विचार राख्ने क्रममा पहिलो नम्बरमा पालो परेका वडा नं. ९ का वडा अध्यक्ष हरिबहादुर घर्तिले, नगरपालिकाको नीति कार्यक्रम र बजेटले सबै पक्षलाई समेटेको बताउनुभयो । ‘बजेट आएकोमा खुसी छु । यसलाई सही कायौन्वयनमा जोड दिनुपर्छ ।’ भन्दै घर्तिले सर्वसम्मत नीति कार्यक्रम र वजेट पारित होस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनारले, जवेट जति आएपछि, जनताका समस्या पुरै हल गर्न नसकिने तर्क राख्दै, ‘अघिल्ला वर्षहरुमा पनि लाखौं वजेटले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटाघाटा, पुल पुलेसा निर्माण गरियो । अहिले जे जति वजेट आउँट, त्यसले सही तरिकाले विकास निर्माण गर्ने हो ।’ थोरे धेरैको कुरा नगरौं यसलाई पारित गरौैं भन्नुभएको थियो ।

आर्थिक वर्ष २०७८-०७९ को वजेट निर्माण कार्यदलका सदस्य तथा नगरपालिकाका प्रवत्ता समेत रहनुभएका वडा नं. ७ का वडा अध्यक्ष दीपक थापाले, स्थानीय तहका जनताको भावनासंग नीति कार्यक्रम र वजेट जोडिनुपर्नेमा जोड दिनुभयो । ‘नगरको समग्र विकासलाई टेवा पुग्ने गरि वजेट आउनुपर्छ, नगरसभाका सदस्यहरुले खुलेर छलफल गरिनु पर्दछ ।’ थापाले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा नगरपालिकाबाट वडामा १ करोडको वजेट गएकोमा अहिले २५ लाखको मात्र सिलिङ आएको छ । यसमा नगर प्रमुखले स्पष्टिकरण दिनुपर्छ ।’ भन्नुभयो ।

वडा अध्यक्ष थापा यस आर्थिक वर्षको वजेट तर्जुमाको एक सदस्य रहेको नगर कार्यपालिका सदस्यले जानाकारी दिएका छन् । वजेट तर्जुमा गर्ने कार्यदलका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुन, वडा नं. ६ का वडा अध्यक्ष जीवन पुन र ७ का वडा अध्यक्ष दीपक थापा रहेको र नगरका लेखापाल सहितको टिमले यस आर्थिक वर्षको वजेट सिलिङमा छलफल गरेको थियो ।

नगरसभामा थापाले नगर प्रमुखलाई वजेटको सिलिङमा नगरको समपुरक कोषमा ७ करोड ५० लाख रहनु र वडामा जम्मा २५ लाख रुपैयाँ बजेट जानुको कारण स्पष्ट पार्न आग्रह गरिरहँदा, सभाका कार्यपालिका सदस्यहरु खासखुस गरेको सुनिथ्यो ।

यसैबिच बजेट तर्जुमा कार्यदलका अर्का सदस्य वडा नं. ६ का वडा अध्यक्ष जीवन पुनले यस पटकको वजेट वडामा थोरै गएको कुरा जनताले थाहा पाएको र उनीहरुले आफूहरुलाई प्रश्न गरिरहेकोले यसलाई स्पष्ट पार्न जरुरी भएको बताउनुभयो । ‘ बजेट पास गर्ने नगर्ने अधिकार नगरसभालाई हुन्छ ।’ सबैले आफ्ना धारणा राख्न र छलफल गर्न समेत पुनले नगरसभा सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनले, बोल्ने क्रममा सुरुमै ‘आफैले बनाएको बजेट र नीति कार्यक्रममा आफैलाई धारणा राख्ने कार्यक्रम किन राखिएको भन्दै ड्यास्मा पुगेर प्रश्न गर्नुभएको थियो । ‘सबैको हितमा वजेट प्रयोग हुनुपर्दछ भनेर छलफलबाटै बजेट ल्याइएको छ । अहिले हामी आफैलाई फेरि धारणा राख्नुपरयो भनेर बोल्न लगाइएको यो अलि नमिलेको जस्तो लाग्यो । ’ पुनले बोल्नुभएको थियो ।

वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले, यो नगरसभा नगरपालिकामा पहिलोपटक आफ्नो कार्यकाल व्यतित गरिहेका जनप्रतिनिधिहरुका लागि अन्तिम हुनसक्ने भन्दै, ‘सबै भन्दा पहिला नीति गतरुपमा वजेट र नीति कार्यक्रम हामीले पारित गर्दै छौं । त्यसभन्दा पहिला सही ढंगले यो काम गरयौं कि गरेनौं ।’ आफैलाई प्रश्न गर्न सक्नुपर्ने बेला आएको बताउनुभयो ।

नगरले नीति कार्यक्रम र वजेट ल्याउँदा अपनाउनुपर्ने ७ चरण मध्ये यो अन्तिम चरण हो । अध्यक्ष पुनले भन्नुभयो, ‘आज बजेट र नीति कार्यक्रम पारित गरौंला तर बीचका ६ चरणका बारेमा कत्तिको ध्यान दिन सक्यौं । ’ यो सवालमा कोहीपनि चिन्तित नभएको उहाँको भनाई थियो । वडा अध्यक्ष पुनले, नगरपालिकाको पहिलो कार्यकालको जनप्रतिनिधि भइयो होला तर त्यो भन्दा पनि स्थानीय सरकार, राज्यसत्ताको संसदीय अभ्यास, विधिको शासन व्यवस्थापन, अधिकारको विनियोजन र प्रत्यायोजनका सवालमा पाँच वर्षे कार्यकाल चुकेको अनुभूति भएको भन्दै, यसपटक जनप्रतिनिधि भएकोमा साशन व्यवस्था सञ्चालनको अनुभव गर्न नपाएको प्रति पछुतो लागेको बताउनुभयो ।

यस्तै वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिले, नीति कार्यक्रम र बजेट आएको छ । जनताका आधारभूत आवश्यकताहरु पूरा गर्न धेरै बाँकी रहेको भन्दै, नगरको समपुरक कोषको वजेट सबै क्षेत्रमा समान ढंगले वितरण गर्न आग्रह गर्नुभएको थियो ।

वडा नं. २ का वडा अध्यक्ष युवराज महतले साढे चार वर्षे कार्यकाल वितिसक्दा समेत नगरपालिकामा संसदीय अभ्यासको अनुभव गर्न नपाएको गुनासो गर्नुभयो । ‘हामी जनताबाट भाटले जितेर आइयो तर भोटे ज नप्रतिनिधि बाहेक केही हुन सकिएन ।’ महतले बताउनुभयो । अझैपनि नगरपालिकामा खास देखाउन लायक कामहरु गर्न नसकेको विषयमा समिक्षा गर्नुपर्ने उहाँको धारणा थियो ।

वडा नं. १ का वडा अध्यक्ष चित्रबहादु भण्डारीले भने, यो अनुहार फेरिु दोहोरिएर आएमा मात्र नगरको विकास देखिने तर्क राख्नुभयो । पूर्व वक्ताहरुको कुराको जवाफसमेत दिंदै भण्डारीले, ‘यो अन्तिम कार्यकाल पनि होइृन र वजेट पनि अन्तिम होइन । अहिलेका जनप्रतिनिधिहरुले बल्ल ५० प्रतिशत अंक ल्याएका छन् । १०० प्रतिशत अंक ल्याउन फेरि दोहोरिएर आउनुपर्छ ।’ भण्डारीको मन्तव्यसँगै सभामा हाँसो नै उठ्यो । तर भण्डारीले आफ्नो धारणा राख्ने क्रममा हामी सबै जनप्रतिनिधिहरु आफैले गरेको कामप्रति असन्तुष्टि मात्र राख्नु हुँदैन भन्दै, ‘नगरको विकास राम्रोसँग भएको कुरा फर्केर आफ्नो गाउँमा हेर्न आग्रह गर्नुभयो ।

स्कुलमा स्थानीय स्तरबाट शिक्षक राख्नुपर्ने र तलव खुवाउनुपर्ने सकस अहिले हटेको छ । दिनभरीको बाटो हिंडेर बजारसम्म जानु आउनुपर्नेमा टोलटोलमा सडक पुगेका छन् । वडाका पायक पर्ने ठाउँ ठाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पुगेका छन् । पुल बनेका छन् । स्कुल भवन बनेकाछन् । त्यसलाई उपलब्धीका रुपमा लिन स्कनुपर्छ । ’ उहाँले बोल्नुभयो । कतिपय नीतिगत बहश होलान, काम गर्दा त्रुटि कमजोरिहरु गरिएको होला तर समग्रमा भएका राम्रा कामको सकरातम समिक्षा गर्न समेत उहाँले आग्रह गर्नुभएको थियो ।

वडा अध्यक्षहरुको धारणा पछि केही नगरसभा सदस्यहरुले आफ्ना प्रश्नहरु राखेका थिए । वडा नं. ७ का वडा सदस्य ताराप्रसाद बुढाले, अघिल्लो वर्ष विनियोजन भएको बजेटका विषयमा वडा समितिमा छलफल समेत गर्न नपाएको र वजेट सकिएपछि पनि वडा स्तरमा वडा सदस्यहरुलाएै कुनैपनि जानाकारी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘यो वर्षपनि बजेट कम आउने हल्ला बाहिर सुनिएको छ तर वडा तहमा यसबारे कुनै जानाकारी नभएको किन हो ? नगरसभा सदस्यहरु सभामा तालि पिटने भन्दा अरु भूमिका नभएको प्रति आफ्नो आपत्ति छ ।’ उहाँले बताउनुभयो ।

यस्तै वडा नं. २ का वडा सदस्य प्रेम चालिसेको नगरमा विषयगत समितिको सदस्य भएको थाहा छ तर त्यसको बैठकमा बोलाईदैन, यो कस्तो परिपाटि हो भन्दै प्रश्न गर्नुभएको थियो । उता वडा नं. ४ का वडा सदस्य ललितमान विकले कार्यपालिकाको बैठकको कुरा नगरसभा सदस्यहरुलाई स्पष्ट पार्नुपर्ने र वजेट वडामा कम जानुको कारण थाहा पाउनुपर्ने बताउनुभयो ।
सभाका अध्यक्ष एवम् नगरपालिकाका प्रमुख देवकुमार नेपालीले सभामा उठेका प्रश्नहरुको जवाफदिंदै, बजेट के कारणले वडामा कमि आयो वा समस्या के हो भन्ने कार्यपालिका सदस्यहरुले बुझेको तर सभामा स्पष्ट पार्न आग्रह गर्नु, ‘मुही माग्ने तर ढुँग्रो लुकाउनु’ जूतो भएको बताउनुभयो ।

नगर प्रमुख नेपालीले चालु आर्थिक वर्ष २ करोडको चालु योजनाको सोध भर्ना गरिनुपर्ने, संघीय सरकारको राजश्व बाँडफाँड बजेट कोभिडका कारण २ करोड नगरपालिकामा नआउनु, र नगरपालिकाका सबै विद्यालयमा शिक्षक भर्ना र कर्मचारी तलव वृद्धिका कारण चालुतर्फको कोष बढेकोले यस्तो अवस्था आएको स्पष्ट पार्नुभयो ।

नगरको करिव ४ करोड बजेट व्यवस्थापनमा अहिले पेश गरिएको नगरको समपुरक वजेट ७ करोड ५० लाखबाट मिलान गर्नुपर्ने बाध्यता भएको बताउँदै नगरप्रमुख नेपालीले, बाँकी रहेको ३ करोड ५० लाख मध्ये यसपटक पनि राजश्व बाँडफाँडको बजेट नआउने सम्भावना मुल्याङ्कन गरेका छौं, वजेट आएछ भने कार्यपालिकाको निर्णयबाट नगरको विकासमा खर्च गर्ने प्रतिवद्धता जाहेर गर्दै त्यसपछिको डेड करोड बजेटले नगरका विषयगत शाखाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रकाशित मिति २०७८ असार २२ गते मङ्गलबार ०७:३५
प्रतिक्रिया दिनुहोस्