सधैं सास्ती दिने मध्यपहाडी लोकमार्ग

सधैं सास्ती दिने मध्यपहाडी लोकमार्ग
२०७८ असार २३ गते बुधबार ०६:१०

हिउँदमा सडकमा उड्ने धुलो भान्छामा पुग्छ । खान थालेको गाँससमेत धुलोबाट जोगाउन हम्मे हुन्छ । वर्षाको समयमा हिलाम्मे हुने सडकमा पैदल यात्रा गर्न निकै कठिन । खेतीपातीको काम र घाँसदाउरा गर्न आउजाउ त गर्नै नसकिने । स–साना बालबालिका...

हिउँदमा सडकमा उड्ने धुलो भान्छामा पुग्छ । खान थालेको गाँससमेत धुलोबाट जोगाउन हम्मे हुन्छ । वर्षाको समयमा हिलाम्मे हुने सडकमा पैदल यात्रा गर्न निकै कठिन । खेतीपातीको काम र घाँसदाउरा गर्न आउजाउ त गर्नै नसकिने । स–साना बालबालिका बिद्यालय पठाउन सडकमै लड्छन की भन्ने त्रास अभिभावकलाई हुन्छ । वयस्कहरु समेत धानिएर हिँड्न कठिन सडकले सताउन थालेको वर्षौं भैसकेको छ ।

मध्यपहाडी लोकमार्गले फन्को हालेको बागलुङको काठेखोला गाउँपालिका ५ र ६ बिहुँका सर्वसाधारणको समस्या हो यो । बिहुँमा कच्चि सडक निर्माण भएको २२ बर्ष भयो । २०५६ सालमा एसियाली विकास बैंकले निर्माण गरेको कृषि सडक अहिले मध्यपहाडी लोकमार्गमा स्तरोन्नती भएको छ । मध्यपहाडी लोकमार्ग बनेको १२ बर्ष बितिसक्दा समेत सडकको अवस्था जस्ताको तस्तै छ ।

‘मैले जागिरे जीवनको आधा समय यहीं बाटोको हिलो र धुलोसँग पौंठेजोरी खेलेर बिताएँ’ भीमसेन माविका पूर्व शिक्षक शिवलाल कँडेल भन्छन् ‘कालोपत्रे हुन्छ भनेको पनि बर्षौं भयो, नाली बन्छ भत्किन्छ, सडकमा पानी बगिरहन्छ ।’
लोकमार्ग समयमा निर्माण सम्पन्न नहुँदा बिहुँबासीलाई निकै सास्ती छ । सडकमा बगेको लेदोसहितको पानी खेतबारी र घरगोठमा समेत पस्ने गरेकाले वर्षामा थप सास्ती हुने गरेको कँडेलले सुनाए । बिहुँमा मात्रै लोकमार्गको १५ किमी सडक छ । ठाउँ ठाउँमा घुम्ती र सडक नालीको पानी उचित व्यवस्थापन नभएका कारण यहाँका बस्तीहरु जोखिममा छन् ।

हिउँदको समयमा धुलोले ढाकेर आसपासमा रहेको जंगलको घाँस पशुचौपायले खाँदैनन् भने वर्षाको समयमा भलबाढीका कारण बालीनालीमा क्षति हुने गरेको स्थानीय किसान गुरुप्रसाद कँडेलले बताए । ‘२२ बर्षदेखि हिलो र धुलोले उमेरनै घटाईरहेको छ, सडक समयमा बनाउन नसकेपनि कम्तिमा पानी तर्काइदिए हुन्थ्यो’ कँडेल भन्छन् ‘बिहँुपारीको सडक कालोपत्रे भैसक्दा समेत हाम्रोमा भएन ।’ सडकका कारण बाह्रै महिना उकुसमुकुसमा बस्नुपरेको स्थानीयको गुनासो छ । कतिपयले त बाढी–पहिरोको त्रासका कारण गाउँनै छोड्न थालेका छन् ।
‘यो सडक चक्लाउने काम पनि एकै पटक गरे हुने, हरेक वर्ष माटो खन्दा पहिरोको जोखिम छ, सडक त कामै नलाग्ने भो ।’ स्थानीय डिल प्रसाद कँडेलले भने । मध्यपहाडीबाट आउने भलबाढीका कारण स्थानीय सडकमा ठुलो क्षति पुग्ने गरेको छ । चार बर्षअघि यही सडकका निर्माणका क्रममा जमिनमा क्षति पुगेर काउलेको बस्तीनै भाँसिएको थियो । भूकम्प पुननिर्माण प्राधिकरणसँगको सहकार्यमा काउलेका १४ घर सुरक्षित स्थान घर बनाएर राखिएको गाउँपालिका अध्यक्ष अमर थापा बताउँछन् ।

‘समयमा लोकमार्गको काम नहुँदा बिहुँ मात्रै होईन सिंगो गाउँपालिका प्रभावित छ’ थापाले भने, ‘हामीले बनाएका संरचनामा समेत लोकमार्गबाट आउने बाढी–पहिरोले क्षति पु¥याउने गरेको छ ।’ लोकमार्गको दुई खण्डमा निर्माणको जिम्मेबारी लिएका कम्पनीहरुले म्याद थप्ने समयमा मात्रै काम गर्ने र अरु समयमा बहानाबाजीमा काम नगर्ने गरेका छन् ।

बागलुङ बजारदेखि सुल्डाँडासम्मको १३ किमी खण्ड सिद्धीसाई भारत संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । बाँकी १२ किमी खण्ड सूर्य कन्स्ट्रक्सनले ठेक्का लिएर स्तरोन्नतीको काम गरिरहेको छ । निर्माण कम्पनीले भने कोरोना महामारी, बर्षा र हिउँका समयमा काम गर्न स्थानीयको अबरोध लगायतका समस्या देखाउने गरेका छन् । लोकमार्ग आयोजना कार्यालयले भने काम भैरहेकाले स्थानीयका माग र समस्या सम्बोधन हुँदै जाने जनाएको छ । सडकको काम समयमा नभएको भन्दै पछिल्लो पटक स्थानीय युवाहरुले निर्माण कम्पनीलाई सर्वसाधारणको तहबाट कारवाहीको चेतवानी दिन थालेका छन् ।

ढोरपाटन न्युजबाट साभार

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०६:१०
प्रतिक्रिया दिनुहोस्