कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य पारिएका प्रकाश विश्वकर्मा इलाका प्रहरी कार्यालय भजनी पुगेका छन्। प्रहरीले प्रकाश दमपत्तिलाई छलफलका लागि बोलाएको थियो। तर, प्रकाश एक्लै प्रहरीकोमा पुगेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।
प्रकाश प्रहरीको सम्पर्कमा रहेको बताउँदै केटीपक्षलाई पनि सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरी निरीक्षक नरबहादुर साउदले बताए। असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल हिजो घर पुगका थिए। विवाह गरेपछि जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले छलफलका लागि बोलाएको हो।
विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको थियो।
कैलालीमा अन्तरजातीय विवाह प्रकरण : दुवै पक्षलाई प्रहरीले बोलायो

जोडीलाई घर पुगेपछि युवतीका आफन्तले घर लगेका छन्। उनीहरूले असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका हुन्। विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए। उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए।
असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदनसमेत दिएका थिए। दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ।
प्रकाशसँग प्रहरीले सोधपुछ गरिरहेको बताएको छ। प्रकाशले गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेको बताएका छन्। लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएको उनको भनाई छ। युवतीका आफन्तले निरन्तर धम्की दिँदै आएका उनको दाबी छ।










