कांग्रेस महाधिवेशन : सभापतिमा निधिको आकांक्षाले देउवालाई आफ्नै गुटभित्र चुनौती

कांग्रेस महाधिवेशन : सभापतिमा निधिको आकांक्षाले देउवालाई आफ्नै गुटभित्र चुनौती
२०७८ असार २६ गते शनिवार ०२:४४

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई लिएर केन्द्रदेखि जिल्लासम्म नेतृत्वको जोडघटाउ चलिरहेको छ ।पार्टी सभापतिका लागि केन्द्रमा करिब एक दर्जन दाबेदार देखिँदा देशैभरि जिल्ला सभापतिका आकांक्षी पनि हिसाब–किताबमा जुटेका...

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनलाई लिएर केन्द्रदेखि जिल्लासम्म नेतृत्वको जोडघटाउ चलिरहेको छ ।पार्टी सभापतिका लागि केन्द्रमा करिब एक दर्जन दाबेदार देखिँदा देशैभरि जिल्ला सभापतिका आकांक्षी पनि हिसाब–किताबमा जुटेका छन् । उनीहरूले पार्टीमा क्रियाशील सदस्य मतदातामाथि पकड राख्ने र केन्द्रीय नेतृत्वसँगको लबिङ बढाउने काम गरिरहेका छन् ।

यसै क्रममा प्रदेश २ का ८ जिल्लामा पनि सभापतिका लागि आकांक्षीहरूको दौडधुप सुरु भएको छ । १३औं महाधिवेशनका क्रममा यो प्रदेशका आठै जिल्लामा शेरबहादुर देउवा पक्षले जिल्ला नेतृत्व ‘क्लिन स्विप’ गरेको थियो ।यसपालि देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् । अघिल्लोपटक रामचन्द्र पौडेल पक्षले तुलनात्मक रूपमा बलियो मानिएको सिरहा, बारा र रौतहटमा समेत पराजय भोगेको थियो ।
तर १४औं महाधिवेशनमा प्रदेश २ का आठवटै जिल्लामा देउवा पक्षले पौडेल पक्षसँग नभई आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ । लामो समय देउवा पक्षमा रहेर भूमिका निर्वाह गर्दै आएका विमलेन्द्र निधिले १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको दाबी गरिरहेका छन् ।

यस्तो अवस्थामा अर्को कुनै चामत्कारिक सहमति नभए देउवा पक्षले आफ्नै गुटभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने आँकलन गरिएको छ ।प्रदेश २ निधिको पकड क्षेत्र भएकाले पनि यो प्रदेशमा उनकै भूमिकाका कारण देउवा पक्ष विगतमा बलियो देखिएको थियो । यसपालि देउवा र निधिबीच सहकार्य हुन्छ वा दुवैले आपसमा प्रतिस्पर्धा गर्ने अवस्था आउँछ भन्ने विषयले प्रदेश २ मा कांग्रेसको आन्तरिक राजनीति पनि प्रभावित हुने देखिन्छ ।

यति बेला प्रदेश २ का सबै जिल्ला सभापति काठमाडौंमा छन् । प्रदेश २ का आठवटै जिल्ला सभापतिसँग सम्पर्क गर्दा धनुषाबाहेकका सभापतिहरू निधि र देउवा पक्षमा विभक्त भइनसकेको पाइएको छ । निधिको गृहजिल्ला धनुषामा सभापति महेश शंकर गिरीले भने आफू निधिसँग रहेको बताए ।अन्य जिल्ला सभापतिले निधि र देउवाको उम्मेदवारीले आफूहरूलाई अप्ठ्यारो हुन सक्ने संकेत गरे ।

महोत्तरीका सभापति महेन्द्रकुमार रायले ८ जिल्लाका सभापतिले निधि र देउवासँग छलफल गर्ने योजना बनाएको सुनाए । दुवै जनालाई मिलेर जान आफूहरूको दबाब रहने उनको भनाइ छ ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०२:४४
प्रतिक्रिया दिनुहोस्