प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।
मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो । विश्वासको मत पाएपछि देउवालाई सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकाेमा विपक्षमा ८३ मत खसेका छन् भने एक मत तटस्थ रहेकाे छ । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् । तर ओली पक्षका केही सांसदले पनि मत दिएका छन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो । एक महिनाभित्र विश्वासको मत लिने सुविधा भए पनि उहाँले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिनुभएको छ ।
निरङ्कुश प्रवृत्तिको पराजय भयो : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली नागरिकको जित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएपछि उहाँले नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको हो ।
नेता नेपालले भन्नुभयो, ‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्टि भएको छ । ‘यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ।’
देउवालाई विश्वासको मत दिने एमालेका सांसद को-को ?
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई माधव नेपाल र केपी शर्मा ओली दुवै पक्षका सांसदले विश्वासको मत दिएका हुन् ।
देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुङ्खे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन छन् ।










