नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्नेसमेत उनले बताए।
यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए। ओलीले भने, ‘एमसिसीबारे छलफल भइरहेको छ। यो पास गर्ने जिम्मा हाम्रो होइन। हामीले सम्झौता गरेको पनि होइनौँ। संसदमा पेश भएपछि हामीले निर्णय लिन्छौँ।’
बैठकका सांसदहरुले एमसिसीबारे पार्टीको धारणा मागेका थिए। भने, अधिकांशले एमसिसी नेपालको हितमा नभएको बताएका थिए।
थप यो पनि पढौं ।
एमसिसीविरुद्ध आन्दोलन, प्रहरीको धरपकड
एमसिसीविरुद्ध आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट निस्किएको टोलीलाई प्रहरीले धरपकड गरेको हो।
आन्दोलनको नेतृत्व गरेको एमसिसी खारेज राष्ट्रिय अभियानका ५ जना प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनमा एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइएको थियो।
आन्दोलनको संयोजक निर्ग नवीनले प्रहरीको ज्यादती अन्त्य हुनुपर्ने बताए। ‘हाम्रो आन्दोलन जारी छ। जबसम्म एमसिसी नेपालबाट खारे हुँदैन,हामी रोकिँदैनौँ’ उनले भने।











