आज संविधान दिवस,संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

आज संविधान दिवस,संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा
२०७८ असोज ३ गते आईतबार ०६:३२

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । ७ औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल...

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् ।

७ औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरे ।

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरे ।

साथै उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गरे ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

“काँग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहो¥याए ।

साथै उहाँले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरे ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाई छ ।

यो पनि पढौं ।

संविधानको रक्षा गर्दै अघि बढौँ  : अध्यक्ष ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका हुन् ।

संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख गरेका छन्। उनले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात् गरेको बताएका छन् । “राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ”, उनले सन्देशमा भनेका छन् ।

उनले पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिलाई पनि आफूहरूले संवैधानिक प्रबन्ध अनुरूपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले संविधान जारी भएपछिको आम निर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश एमालेलाई प्राप्त गरेको उल्लेख गर्दै त्यतिवेला सङ्घीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको बताए ।

“पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रूपमा सूत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्रका रूपमा व्याख्या ग¥यौँ”, उनले सन्देशमा भनेका छन्, “सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहित परिपूर्ण लोकतन्त्र परिकल्पना र कार्यक्रमको सार हो ।”

 यो पनि पढौं ।

संविधान दिवस :  वाइडेनदेखि  कोविन्दसम्मले पठाए

शुभकामना सन्देश

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।

राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताए ।

सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा उनले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गरेका छन् । भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसको उपलक्ष्यमा अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनले राष्ट्रपति नेपाली जनता र राष्ट्रपति भण्डारीप्रति हार्दिक बधाई ज्ञापन गरेका छन्। सन्देशमा उनले बितेको वर्ष कोभिड–१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेको बताएका छन् । कूटनीतिक सम्बधमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका–नेपाल मैत्रीको उनले सराहना गरेका छन् ।

दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै अमेरिकी राष्ट्रपतिले सन्देशमा नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताएका छन् ।

प्रकाशित मिति २०७८ असोज ३ गते आईतबार ०६:३२
प्रतिक्रिया दिनुहोस्