बागलुङ नगरपालिकाले हडपेको कृषि ज्ञान केन्द्रको भवन र परिसर खाली नगर्दा कृषि ज्ञानकेन्द्रको कामहरु प्रभावित भएका छन् । पालिकाले भवन र भवन परिसर खाली नगर्दा चालु आर्थिक वर्षमा स्वीकृत आफ्ना कार्यक्रमहरु प्रभावित हुने भएकोे कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।
पालिकालाई भवन र परिसर खाली गर्न पटक–पटक अनुरोध गरिए पनि कृषि ज्ञानकेन्द्रको भवन र परिसर नगरपालिकाले खाली गर्न अटेरी गरिरहेको छ । प्रयाप्त भवन र परिसरको अभावमा कृषि ज्ञान केन्द्र्रले बाली संरक्षण प्रयोगशाला, डिजिटल मिनि ल्याब स्थापना गर्न सकेका छैनन ।
चालु आर्थिक वर्षको लागि कार्यालय परिसरमा भीडियो प्रदर्शनी कक्ष सहितको पुस्तकालय निर्माण, कार्यालय परिसरमा कृषि यन्त्र उपकरण प्रदर्शनी कक्ष निर्माण, कार्यालय भवन रङ रोगन तथा मर्मत जस्ता कार्यक्रम स्वीकृत भई बजेट शुनिश्चित भएपनि भवन र परिसर खाली नहुँदा समस्या भएको प्रमुख भट्टराईले बताउनुभयो ।
यसबाट बागलुङका कृषकहरु मर्कामा परेको उहाँको भनाई छ । ति कार्यक्रमहरु गर्न सकिए जिल्लाका कृषकलाई ठूलो उत्प्रेरणा मिल्ने बताउनुभयो । ‘आधुनिक कृषी औजार प्रदर्शनी र पुस्तकालय निर्माणले कृषकलाई धेरै उत्पेरणा मिल्नेछ’ उहाँले भन्नुभयो–‘तर भवन र परिसरको अभावमा काम अघि बढ्न सकेन ।’ उहाँले माटो परीक्षणको लागि समेत बागलुङका कृषकलाई ठूलो सहयोग पुग्ने बताउनु भयो ।
‘हाल माटो परीक्षणको लागि पोखरा पुग्नु पर्ने बाध्यता छ, यहिँ ल्याब स्थापना भयो भने बागलुङका कृषक पोखरा धाईरहनु पर्दैन, यहिँ परीक्षण हुन्छ त्यसले कृषकलाई उत्पादन बढाउन मद्धत पुग्छ’ उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रले भवन खाली गराउन नगरलाई पत्रचार गरे पनि त्यसको प्रति उत्तरमा नगरपालिकाले ‘भवन तथा परिसर खाली नगर्ने र अब आइन्दा त्यस्तो पत्र नलेख्न समेत अनुरोध’ गरेको थियो ।
ईपरी न्यूज











