बागलुङको बडिगाड गाउँपालिका–९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरा मध्य कोही खायो, कोहीलाई मार्यो ।
खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अवेरसम्म पनि बाहिर नगए पछि स्थानीयले सव डिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोर भित्रै नै रह्यो । बाहिर निस्कने कुनै चेष्ट गरेन ।
खोर अघिको फाँटका बारीमा अग्ला अग्ला पाक्दै गरेको कोदो छ ।
खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागे पछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउने जस्ता गतिविधि गरे पछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लाग्यो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै पछि पछि जाँदै गर्द चितुवा फेरि उल्टो फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका–८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।
चितुवा फर्केर मान्छे भए तिर आउँन साथ राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्घन समात्न पुग्नुभयो । चितुवाले आक्रमण गर्नु अघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल भए पछि नजिकमा भएका सबैले चितुवालाई जबरजस्ती च्याप्न सफल भए ।
चितुवा नियन्त्रणमा लिने बेला पाईजाको खुट्टामा सामान्य चोप लागे छ । पछिल्लो खुट्टाको भागले कोर्तन भ्याए पनि अन्य कुनै क्षति नभएको पाईजाले बताउनुभयो । ‘भाग्यले ठुलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो–‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएके भए ठुलो क्षति हुने पाईजाको भनाई छ ।
‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’ उहाँले भन्नुभयो–‘ समातेर लडाए सबै आएर कक्र्रक्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरे स्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ । खोर भित्र चितुवालाई नियन्त्रण लिन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।










