पिसाब नलीमा रबर बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर

पिसाब नलीमा रबर बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर
२०७८ माघ ३ गते सोमबार ०५:३२

ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले...

२५ दिन कैद सजायसहित क्षतिपूर्ति भराउने फैसला

ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार मात्रै होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको आइतबार थुनछेक बहसको पेसी थियो । तर अदालतले आइतबार नै उक्त मुद्दामा नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

कास्की जिल्ला अदालतका श्रेष्तेदार नवराज दंगालका अनुसार होस्टलकी कर्मचारीलाई दोषी ठहर गर्दै उनलाई २५ दिनको जेल सजाय सुनाइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले नेपालीमाथि २५ दिन कैद सजाय, पीडितलाई ५ हजार रुपैयाँ क्षतिपूर्ति, एकहजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने आदेश दिएका हुन् ।

सरकारी वकिल कार्यालयले परिवर्तित नाम २०७८ ९४७० को जाहेरीका आधारमा नेपाल सरकारवादी भएर जानुका नेपालीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले प्रतिवादी जानुका नेपालीले बालबालिका विरुद्धको कसुर गरेको पुष्टी भएको भन्दै एक वर्षसम्म कैद सजायको मागदावी गरेको थियो । सरकारी वकिल कार्यालयले आफ्नो निचोडखण्डमा यस्तो लेखेको थियो

निज पीडितले ओछ्यानमा पिसाब गरेको भनी जानुका नेपालीले पीडितको पिसाब गर्ने ठाउँमा रबरले बाँधेर यातना दिएको हुँदा निजलाई कानुनी कारवाही हुनुपर्छ भनी लेखाइदिएको ब्यहोरा कागज र सो घटनाका सम्बन्धमा पत्रिकामा छापिएको समाचार एवम् घटनाका सम्बन्धमा सोधपुछ गरिएको अडियो भिडियो तथा घटनास्थलको फोटोसमेत मिसिल संलग्न आधार प्रमाणहरुबाट निज प्रतिवादी जानुका नेपालीले वर्ष ६ का नाबालक परिवर्तित नाम २०७८ पोखरा ४७ ले बिस्तारामा पिसाब गरेको भनी निजले पिसाब गर्ने अङ्गमा बाँधी यातना दिनेजस्ता कार्य गरी बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा १ ले निषेधित तथा उपदफा २ को खण्ड घ र ङ बमोजिमको कार्य गरी बालबालिका विरुद्धको कसुर गरेको पुष्टि हुन आयो ।’

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ को खण्ड घ र ङ मा यस्तो लेखिएको छ

९घ० घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने ।
९ङ० शारीरिक चोटपटक वा असर पुराउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने ।
यही उपदफा प्रयोग गरेर जिल्ला सरकारी वकिल कार्यालयले सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड क बमोजिमको सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७२ को उपदफा ३ को खण्ड क मा यस्तो कानुनी व्यवस्था राखिएको छ ।

दफा ६६ को उपदफा ९२० को खण्ड क, ख, ग, घ, ङ, च वा ९द० वा दफा ७८ को उपदफा ९१० वा ९२० बमोजिमको कुनै कार्य गरेमा पचास हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय ।
यसै दफाको आधारमा कास्कीको फलेपाटनमा रहेको न्यू लाइफ स्कुल नामक होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजायको मागदाबी लिएर सरकारी वकिल कार्यालय अदालत पुगेको थियो ।

शुक्रबार दर्ता भएको मुद्दामा आइतबार थुनछेक बहस थियो । तर अदालतले बुझ्नुपर्ने प्रमाण सबै आइसकेको र अभियुक्तले कसुरसमेत स्वीकार गरी पश्चातापसमेत गरेको भन्दै आइतबार नै फैसला सुनाएको हो । फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ ।

भएको के थियो ?

कास्की जिल्लाको फलेपाटनमा एउटा होस्टल छ, न्यु लाइफ स्कुलको नाममा । उक्त होस्टलमा केही अनाथ तथा सडक बालबालिकाहरु रहेका छन् । उनीहरुलाई शिक्षा, आवास आदिको व्यवस्था गरिएको छ । होस्टलमा रहेका बालबालिकालाई होस्टेलले नजिकै रहेको सिद्ध माध्यामिक विद्यालयमा अध्यापन गराउने गरेको छ ।

गत पुष ५ गते सिद्ध माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा पढाउने जाने शिक्षिका सिर्जना कँडेललाई एक बालिकाले एउटा रबर दिइन् । रबर किन दिएको भनेर सोध्दा बालिकाले एक बालकलाई देखाएर उसले धेरै पिसाब गर्छ त्यही भएर पिसाबनलीमा रबरले बसिदिनोस् भनेर सुनाइन् । शिक्षिकाले उक्त रबर डस्टबिनमा फालिदिइन् । तर ती बालिकाले फेरि पिसाब धेरै गरेकाले रेमन (होस्टलमै रहने बालक)को पिसाब नलीमा पनि रबरले बाँधिदिएको सुनाइन् ।
जब शिक्षिका कँडेलले बालकलाई हेरिन्, उक्त बालक रुन थाल्यो । शिक्षिकाले अहिले पनि पिसाब नलीमा बाँधिएको छ हो भनेर सोध्दा बालकले रुँदै हो भन्ने जवाफ दिए । शिक्षिकाले हतार हतारको बालकले लगाएको पाइन्ट खोलेर हेरिन् । नभन्दै बालकको पिसाब नलीमा कसिलो गरी रबरले बाँधिएको थियो ।

त्यसलगत्तै शिक्षिका सिर्जना कँडेलले विद्यालयकै सहायक प्रिन्सिपल र सहायक प्रिन्सिपललाई कक्षाकोठामै बोलाइन् र देखाइन् । तीनैजना शिक्षक मिलेर बच्चाको पिसाब नलीमा बाँधिएको रबर काटे ।  शिक्षिक कँडेलका अनुसार पिसाबनलीमा कसिलो गरी रबरले बाँधिएको कारण बालकको पेट फुल्लिएको थियो ।

पेट फुल्लिएको कारण बालकको नाइटोसमेत अस्वभाविक रुपमा बाहिर निस्किएजस्तो देखिन्थ्यो । अनुहारको भागभंगीमा पनि परिवर्तन भएको थियो र बालक असाध्यै धेरै पीडामा भएको अनुभूति गरिरहेका थिए । पिसाब नलीबाट तपतप पिसाबसमेत चुहिरहेको थियो । जब शिक्षक र शिक्षिका मिलेर बालकको पिसाबनलीमा बाँधिएको रबर काटियो, त्यसपछि बालकले अत्याधिक धेरै पिसाब गरे ।

बालकमाथि अमानवीय व्यवहार गरेको पाइएलगत्तै विद्यालयले यसबारे सोधखोज ग¥यो । होस्टलमै रहेका अन्य बालबालिकासँग कुरा गर्दा होस्टलकै कर्मचारी जानुका नेपालीले ती बालक तथा अन्य बालबालिकामाथि पनि त्यस्तै अमानवीय व्यवहार गर्ने गरेको थाहा भयो । सोही विद्यालयमा पढ्ने होस्टेलका कर्मचारी जानुका नेपालीकै बच्चाले पनि मामुले त्यसरी बाँधिदिनुभएको कुरा बताए ।

यस्तो घटनालगत्तै विद्यालयले होस्टलकी कर्मचारी नेपालीलाई विद्यालयमा बोलाएर कुरा गर्यो । सुरुमा नेपालीले आफूले त्यस्तो अमानवीय कार्य नगरेको जवाफ दिइन् । तर धेरै सोधखोज गरिसकेपछि बच्चाले ओछ्यानमा पिसाब गर्ने गरेकाले तर्साउने नियतका साथ त्यसरी पिसाब नली बाँधिदिएको तर विद्यालय जाने बेलामा झिक्न बिर्सिएको बताइन् ।

होस्टल कर्मचारीले नै त्यस्तो बताएपछि होस्टलका सञ्चालकलाई समेत बोलाएर विद्यालयले छलफल ग¥यो । अनि अब आइन्दा त्यस्तो अमानवीय कार्य नगर्ने कागजसमेत गराइयो ।  तर अमानवीय हर्कत लुकाउन विद्यालय र होस्टेलले गरेको प्रयास सफल भएन । उक्त कुरा बिस्तारै सञ्चारमाध्यममा पनि आउन थाल्यो ।

त्यसपछि होस्टलले कर्मचारी जानुका नेपालीलाई बर्खास्त गरेको बतायो । तर बालबालिकामाथि अमानवीय गतिविधि गर्ने वार्डेन नेपालीमाथि कानुनी कारवाहीको माग उठेपछि प्रहरीले वार्डेन जानुका नेपालीलाई पक्राउ गर्यो । २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले पुष २८ गते प्रमाणका साथमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको थियो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुष ३० गते शुक्रबार कास्की जिल्ला अदालतमा बालबालिका सम्बन्धी कसुरको आधारमा नेपालीमाथि मुद्दा दर्ता गराएको हो ।

बालबालिकालाई यातना दिएको अभियोगमा काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दामा बालबालिकालाई यातना दिने शिक्षिकालाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा पीडित बालबालिकालाई क्षतिपूर्तिस्वरुप एक लाख रुपैयाँ भराउने फैसला भएको थियो ।

प्रकाशित मिति २०७८ माघ ३ गते सोमबार ०५:३२
प्रतिक्रिया दिनुहोस्