मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेको छ । मनाङ जिल्लालाई पनि ठूलो क्षति पु¥याएको छ ।
मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको जानकारी दिए ।
‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी छ । तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पु¥याएको छ,’ उनले भने । सिडिओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए ।
लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको सिडिओ लामिछाने बताउँछन् ।
मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले जानकारी दिए । मनाङकै मस्र्यांदीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो । तर, अहिले थनिएको नदी खुलिसकेको उनले जानकारी दिए ।
लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामै रहेको ३२ किलोवाटको लघुजलविद्युत पनि बाढीले बगाएको थियो ।










